×

काठमाडौं। काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।विशेषगरी १२ कक्षा पढेर क्यानडामा पढ्न, बस्न र खान पुग्ने पैसा नलिई गएकाहरू ठूलो तनावमा परिरहेको गैरआवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले बताए।

कतिपय विद्यार्थी अलपत्र परेका छन्। कतिले चरम आर्थिक र मानसिक तनावका कारण आत्महत्या प्रयाससम्म गरेका छन्।दुलालका अनुसार क्यानडामा आर्थिक समस्यामा परेका केही विद्यार्थीको उद्धार पनि गरिएको छ। यस्तै विद्यार्थीमध्ये एक हुन् भैरहवाका हरिश (परिवर्तित नाम)

२३ वर्षीय हरिश क्यानडामा बेवारिसे अवस्थामा फेला परेका थिए। एक वर्षअघि मात्रै विद्यार्थी भिसामा क्यानडा पुगेका थिए। उनी टोरन्टोको सेन्टेनियल कलेजमा सफ्टवेयर टेक्नोलोजी विषय पढ्न भर्ना भएका थिए। दुई वर्षमा पूरा हुने डिप्लोमा अन्तर्गतको कोर्ष हो यो।

एक वर्षसम्मको पढाइ हरिशले जेनतेन पूरा गरे। दोस्रो वर्षको कलेज शुल्क तिर्नुपर्ने बेला भइसकेको थियो। तर यसबीच उनले कमाइ हुने काम पाउन सकेनन्। एकातिर कलेजको शुल्क तिर्नुपर्ने दबाब, अर्कोतिर क्यानडाको महँगिँदै गएको बसाइको मारमा परे।

तनावले उनलाई डिप्रेसनमा पुर्‍यायो। बेखर्ची भएर कोठा भाडासमेत तिर्न नसकेका उनलाई प्रहरीले उद्धार गरेर ब्राम्पटन सिभिक हस्पिटल पुर्‍याएको थियो, दुलालले भने।क्यानडाको गैरआवासीय नेपाली संघको पहलमा हरिशलाई नेपाल फर्काइएको छ। उनी माघको पहिलो साता नेपाल फर्किएका हुन्।

क्यानडाकै ओन्टारियो कलेज पढ्ने अर्का एक नेपाली विद्यार्थीले गत महिना आत्महत्या प्रयास गरे। काम नपाएर आम्दानी ठप्प भएपछि उनी केही महिनादेखि तनावमा थिए। एक वर्षअघि क्यानडा पुगेका उनी पनि कलेजको शुल्क तिर्नुपर्ने दबाबमा थिए। परिवारका सदस्यहरूले फोन गरेका बेला सम्झाइरहने ऋणले पनि उनलाई समस्याग्रस्त अवस्थामा पुर्‍याएको थियो।

त्यसपछि आत्महत्याको बाटो रोजेका उनले आफैं बस्ने कोठाको शौचालयमा गएर हातको नशा काटेका थिए। साथीहरूले घाइते अवस्थामा फेला पारेपछि उनलाई अस्पताल पुर्‍याइयो। अहिले उनको अवस्था सामान्य छ। गैरआवासीय नेपाली संघले कलेजलाई आग्रह गरेर शुल्क तिर्ने समयावधि लम्ब्याइएको छ।

क्यानडामा काम नपाएपछि अर्का नेपाली विद्यार्थी लागूलती बने।

ओन्टारियोकै ती विद्यार्थी बेरोजगार बनेपछि दुर्व्यवसनमा फसेका थिए। गैरआवासीय नेपाली संघका पदाधिकारीले बताएअनुसार उनी त्यहीँकै रैथाने युवतीसँग प्रेममा परेका थिए।

त्यहाँका रैथाने (नेटिभ) हरू प्रायः सहर बाहिर बस्छन्। उनकै साथ लागेर गाउँतिर बस्न थालेका ती नेपाली विद्यार्थी दुर्व्यसनको दलदलबाट उद्धार गरिएको थियो। उनलाई अहिले सुधार गृहमा राखिएको छ। दुर्व्यसनीको अवस्थामा सुधार देखिएपछि नेपाल फर्काउने तयारी गरिएको गैरआवासीय नेपाली संघले बताएको छ।

बेखर्ची बनेका अर्का नेपाली विद्यार्थी अपराध कर्ममा संलग्न भएको आरोपमा ओन्टारियो क्षेत्रमै प्रहरी हिरासतमा छन्। उनको यही जनवरी २९ तारिखमा पेसी तोकिएको छ। मुद्दाको सुनुवाइ हुँदैछ।

आप्रवासन नीतिमा कडाइ गरिएपछि विदेशी विद्यार्थीहरू सडकमा भेटिन थालेका संघका अध्यक्ष दुलालले बताए। केही महिनाको अन्तरालमा तीन(चार जना विद्यार्थीलाई सडकबाटै उद्धार गरिएको उनले बताए।

कलेज शुल्क तिर्न नसकेको र कामसमेत नपाएपछि नेपाली विद्यार्थी सडकमै बस्ने, सडकमै खाने गर्न थालेका छन्, उनले भने, हामीले तीन-चार जना त्यस्ता विद्यार्थीको उद्धार गरेर कसैलाई आवासीय भवनहरूमा त, कसैलाई नेपालीहरूलाई नै अनुरोध गरेर उनीहरूका घरमा राखेका छौं।क्यानडाले यस वर्षदेखि अप्रावासी विद्यार्थीसम्बन्धी नीतिमा कडाइ गरेको दुलालले बताए।

आर्थिक वर्ष २०७९/८० मा क्यानडा अध्ययनका लागि २१ हजार बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए। यसरी एनओसी लिने नेपाली विद्यार्थीमध्ये अधिकांश १२ कक्षा मात्रै उत्तीर्ण थिए।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म पनि १२ हजार ४९ जनाले एनओसी लिइसकेका छन्।

संघका अध्यक्ष दुलालका अनुसार सन् २०२३ मा विश्वभरबाट दस लाखभन्दा बढी विद्यार्थी अध्ययन भिसामा क्यानडा पुगेका थिए। यसबाहेक दक्ष जनशक्तिलाई क्यानडाले कामदार भिसामा पनि भित्र्याउँछ। पढाइमा अब्बलहरूलाई पनि विभिन्न भिसामार्फत् उसले आकर्षित गरिरहेको हुन्छ। झन्डै चार लाख मानिस यी विभिन्न भिसामार्फत् क्यानडा पुग्छन्।

यसरी एक वर्षमै झन्डै १४–१५ लाख नयाँ आप्रवासीको चाप त्यहाँको रोजगार बजारले थेग्न सक्ने अवस्था नरहेको दुलालले बताए।

देशको आर्थिक अवस्था खस्किँदै गएपछि विकसित देशले अध्ययन भिसामार्फत् बाह्य विद्यार्थी भित्र्याउने नीति लिन्छन्। केही समयअघि बेलायतले यस्तै नीति अघि सारेको थियो। रोजगारीको क्षेत्र साँघुरिएसँगै अस्ट्रेलियाले विद्यार्थी भिसामा कडाइ गरेको थियो। बेरोजगारी समस्या चुलिन थालेपछि क्यानडाले आप्रवासी विद्यार्थीको नीतिमा कडाइ गरेको छ।

रोजगारी र बाससस्थान उपलब्ध गराउन असमर्थ रहेकाले यस वर्ष (सन् २०२४ को लागी) क्यानडा सरकारले विद्यार्थीको लागी तीन लाख ६४ हजारको क्याप (सीमा) लगाएको दुलालले बताए। अर्थात् क्यानडाले अब वर्षमा तीन लाख ६४ हजार नयाँ विद्यार्थीलाई मात्रै भिसा दिनेछ।

परिमार्जित नीति कायम रहने हो भने निजी कलेज पढेका विद्यार्थीले दुई वर्षपछि वर्क परिमिट पाउन मुस्किल हुने पनि उनले बताए।

भर्खरै क्यानडा सरकारले विद्यार्थी नीति परिवर्तन गरेको छ। संसारबाट ३ लाख ६४ हजार विद्यार्थी मात्रै भित्र्याउने गरी क्याप (सीमा) लगाएको छ, दुलालले भने, यसअघि डिप्लोमा पढ्न आउने विद्यार्थीको श्रीमान वा श्रीमतीलाई कामदार भिसा दिन्थ्यो। अब नदिने भएको छ।

पढ्न जाने विद्यार्थीका श्रीमान वा श्रीमतीले कामदार भिसा पाउने हुँदा नेपालबाट दम्पती नै क्यानडा जाने चलन बढ्दो थियो। यो प्रक्रिया पूरा गरेर धेरै नेपाली परिवार क्यानडा पुगेका छन्। तर अब स्नातक उत्तीर्ण गरेर जाने विद्यार्थीहरूका श्रीमान वा श्रीमतीले मात्र कामदार भिसा पाउने उनले बताए।

नेपाली विद्यार्थीहरूले काम पाउन जटिल हुने अर्को कारण पनि छ।

हामीकहाँ १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै विदेश जान खुट्टा उचालिहाल्ने प्रचलन बढेको छ। विदेश गएपछि अध्ययन र आम्दानी दुबै बलियो हुने र पारिवारिक अवस्था सुध्रिने सोच अधिकांश विद्यार्थी र अभिभावकको हुन्छ। त्यसकारण ऋणधन जे गरेर भए पनि शैक्षिक गन्तव्य मुलुक पुग्ने ध्याउन्न हुन्छ।

यो लहडमा हुनेखाने परिवार मात्र होइन, मध्यम वर्ग पनि मिसिएको छ।

१२ कक्षा उत्तीर्ण, भर्खरै किशोरवय कटेका छात्रछात्रासँग हातमा कुनै सीप, दक्षता हुँदैन। सवारी साधनसमेत चलाउन नजान्ने नेपाली विद्यार्थीले कलेज वरिपरि काम पाए मात्रै गर्नुपर्ने अवस्था हुन्छ। पढाइलाई छुट्टयाएर बचेको समयमा गर्ने कामले कोठा भाडा तिर्न पनि पुग्दैन।

आफ्नै सवारीसाधन भएकाले मात्रै समय व्यवस्थापन गरेर टाढाटाढा काम गर्न जान सक्ने दुलालले बताए। तर उनीहरूले काम गर्न पाउने भनेको हप्तामा बीस घन्टा मात्रै हो।

क्यानडामा काम र पढाइको व्यवस्थापन मिलाउन असाध्यै कठिन हुन्छ। क्यानडा अत्यन्तै चिसो देश हो। यहाँको तापक्रम माइनस ४०–५० डिग्री सेल्सियससम्म पुग्छ। धेरै सहरको अवस्था यस्तै हो, उनले भने, अनि एक त चिसो वातावरणमा समायोजित भएर काम गर्न कठिन हुन्छ। अर्को प्रायः विद्यार्थी प्लस-टु मात्र सकेर आउँछन्। उनीहरूसँग न सीप हुन्छ, न उमेरमा परिपक्वता नै आएको हुन्छ। सवारी चलाउन नआउने भएकाले टाढाटाढा काममा जान पनि सक्दैनन्।

नेपाली कन्सल्टेन्सीहरूले उनीहरूलाई राम्ररी परामर्श नगर्ने दुलालले बताए। कलेजहरूले प्रतिविद्यार्थी २० देखि ३० प्रतिशतसम्म कमिसन दिने हुँदा कन्सल्टेन्सीहरूले पनि क्यानडाको राम्रो पक्ष मात्रै देखाउँछन्। विद्यार्थी त्यसैमा मख्ख पर्छन्। अनि घर हुन्छ कि, खेतबारी, त्यही धितो राखेर ऋण काढ्ने र २५–३० लाख रूपैयाँ खर्चिएर क्यानडा जाने क्रमले तीव्रता पाएको उनले बताए।

यसरी क्यानडा गएकाहरूले सुरूमै एक वर्षको कलेज शुल्क तिरेका हुन्छन्। कतिले चार–पाँच हजार डलर लगेकाले एक वर्ष जेनतेन कटाउने गरेको दुलालले बताए।

एक वर्षपछि कलेजको शुल्क १५–१८ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ। घरबाट पनि ऋणको कुरा सम्झाउँछन्। छोराछोरी विदेशमा भएकाले पैसा पठाइदिन्छन् कि भनेर आश परिवारले गर्नु स्वाभाविकै भइहाल्यो। उनीहरूलाई यहाँको अवस्था थाहा हुँदैन, दुलालले भने, यसपछि नेपाली विद्यार्थी एक्कासि डिप्रेसनमा पुग्ने गरेका छन्।

१२ कक्षा पास गरेपछि विद्यार्थीलाई विदेश पठाइहाल्ने सोच अभिभावकले त्याग्नुपर्ने उनले बताए। डिप्लोमा अध्ययनका लागि विदेश नै पठाउने भए सीप सिकेर र कुनै एउटा काममा दक्ष बनाएर मात्रै पठाउन अनुरोध गरे।

छोराछोरीलाई विदेश पठाउन नहतारिनूस्। क्यानडामा त झन् पठाउँदै नपठाउनूस्। पठाउने नै भए, सवारी साधन चलाउने, कपाल काट्ने, प्लम्बिङ, इलेक्ट्रिसियन, कुकिङ आदि तालिम दिएर, सीपयुक्त तुल्याएर पठाउनुहोस्, उनले भने।

डिप्लोमा पढ्न क्यानडा पुगेकाले दुई वर्षपछि वर्क परमिटु पाउँछन्। त्यतिञ्जेल घरबाट पैसा पठाएर उसको खर्च धानिदिन सक्ने भए मात्र सन्तानलाई क्यानडा पठाउन उनले सुझाए। अन्यथा स्नातक उत्तीर्ण गरेपछि, स्नातकोत्तर पढ्न मात्रै क्यानडा जान उपयुक्त हुने उनले बताए।

स्नातकोत्तर अध्ययन पूरा गरेपछि क्यानडाले तीनवर्षे खुला वर्क परमिटु दिन्छ। जसले आम्दानीको बाटो मात्रै खुलाउँदैन, सेटल हुन पनि मद्यत गर्छ।

क्यानडा आएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीको चाहना यहीँ सेटल हुने हुन्छ, उनले भने, त्यसका लागि स्नातक अध्ययन पूरा गरेपछि नै यहाँ आउनु उपयुक्त हो।

क्यानडामा दुःख पाउनेमा नेपाली विद्यार्थीहरू नै बढी छन्। निश्चित खर्च लिएर पुगेका उनीहरू त्यहीँको रोजगारी र आम्दानीमा भर परेका हुन्छन्। वैदेशिक अध्ययनका लागि क्यानडा पुगेका धेरे देशका विद्यार्थीको जिआइसी बीमामार्फत् पढाइ अवधिभरका लागि खर्चको बन्दोबस्त हुन्छ। पढाइ र बसाइ खर्च जुटाउनुपर्ने ताप उनीहरूलाई हुँदैन।

नेपालले पनि यही नीति अनुसरण गर्नुपर्ने दुलाल बताउँछन्। अन्यथा प्लस-टु उत्तीर्ण भएकालाई वैदेशिक अध्ययनमा जान अनुमति दिने परिपाटीमा पुनः विचार गर्नुपर्ने उनले बताए।

जिआइसी बीमा प्रबन्ध गर्ने, त्यसमार्फत् क्यानडाको बैंकमा मासिक रूपमा विद्यार्थीहले निश्चित रकम झिक्ने र प्रयोग गर्न सक्ने अवस्था हुने हो यस्ता समस्या न्यूनीकरण हुन्छ। अन्यथा नेपाली विद्यार्थी दबाबमा पर्छन्, उनले भने।विद्यार्थी पठाएवापत् २० देखि ३० प्रतिशतसम्म कमिसन बुझ्ने कन्सल्टेन्सीहरूले कोठा, रोजगारी आदि खोज्न पनि सहयोग गर्नुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया