×

चितवन । भरतपुर अस्पतालमा चिकित्सकमाथी दुर्व्यवहार भएको छ । आईतबार राती १०ः३० बजेको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालको इमर्जेन्सी कक्षमा दुर्व्यवहार गरेका हुन् ।

उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की–लेखनाथ महानगरपालिका वडा नं. ५ का आकाश पौडेल रहेको चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । श्रीमतीको उपचारका लागि आएका पौडेलले मादक पदार्थ सेवन गरी चिकित्सकलाई चर्को स्वरमा कराएको उहाँले बताउनुभयो ।

अस्पतालको इमर्जेन्सीमा कार्यरत डा.आविस्कार चापागाईले पौडेलले काटिदिन्छु, मारिदिन्छु भन्दै दुव्र्यवहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो “रक्सी खाएर आएका व्यक्तिले इमर्जेन्सीमा बिरामी आएको ५ मिनेट नहुँदै होहल्ला गरेको, तपाईंको टिकट खै भनेर अस्पतालको गार्डले सोध्दै गर्दा पहिले उपचार गर अनि बल्ल टिकट खोजलास भन्दै होहल्ला गरे ।”

उहाँले अगाडि थप्नुभयो “अनि फेरि गार्डले टिकटमा डाक्टरले लेख्दिनु हुन्छ उपचार गर्नलाई सर भन्दा –‘तँ गार्ड हैनस् तँलाई काटदिन्छु, तँलाई गिडदिन्छु, तँ को होस ?’ भन्दै ठूलो ठूलो स्वरमा कराउने गरेपछि, आफू पुगेर के भयो ? हो हल्ला नगरौं उपचार गरौं भन्दा तँ कोहोस्? तलाई पनि काट्छु, गिन्डिन्छु भन्दै हात देखाउँदै औंला ठड्याएर, मुठ्ठी कसेर पिट्छु नै जस्तो गर्ने लागे पछि तत्काल प्रहरीलाई खबर ग¥यौं ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले कानुन अनुसार कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिने बताउनुभयो । उहाँले भन्नुभयो “कार्यालय खुलेपछि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, ०६६ पहिलो संशोधन ०७९ बमोजिम कारबाही चलाउनु पत्राचार गर्छौ ।”

तपाईको प्रतिक्रिया