×

गैँडाकोट । पार्टीसँगको ३५ वर्षे नाता तोड्दै नेकपा एमाले नवलपुरका नेता (जिल्ला सल्लाहकार सदस्य) राजु सापकोटाले नेकपा एमाले परित्यागको घोषणा गर्नुभएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ स्थायी घर भएका सापकोटाले लामो समयदेखि रहेको नेकपा एमालेसँगको नाता तोडिएको बताउनुभयो ।

बर्तमान राजनैतिक घटनाक्रम नियाल्दा हालको राजनैतिक दल र नेतृत्वबाट मुलुकको समृद्धि नहुने निश्कर्ष निकाल्दै नेता सापकोटाले एमालेभित्र बसीरहनु उपयुक्त नहुने बताउनुभएको छ ।नेताहरुले आफुहरुलाई जनसेवकभन्दा शासक ठानेको तथा राज्यशक्तिको दुरुपयोग गरेर आफ्ना आसेपासेलाइ सरकारी सेवासुविधामा पोस्ने काम गरेको सापकोटाले जारी गरेको पार्टि परित्यागको पत्रमा उल्लेख छ ।

निरन्तर एकीकरण र विभाजनको प्रकृयाबाट गुज्रीरहेका राजनैतिक शक्तिहरु इतिहाँस र भविष्यको विचमा अलमल रहेको भन्दै उहाँले नेकपा एमालेसँग अलग भै आफु स्वतन्त्र बस्ने निर्णयमा पुगेको बताउनुभयो । विस २०४३ सालदेखि नेकपा एमालेमा आवद्ध भएका सापकोटाले पार्टीको तत्कालिन गाउँकमिटी, इलाका कमिटी, क्षेत्रीय कमिटी, जिल्ला प्रतिनिधी परिषद लगायतका कमिटीहरुमा बसेर काम गर्नुभएको थियो ।

नेकपा एमालेभित्र ओली विचार समूहको नेतृत्व गर्दै आएका सापकोटालाई हरेक पटक पार्टि नेतृत्वले स्थान नदिएको, नेतृत्वमा आउन खोज्दा विभिन्न हतकण्डा अपनाएर अवसर नदिने गरेको समेत एमालेजनहरु बताउछन् ।

एमाले परित्याग गरेपनि सामाजिक सेवामा निरन्तर खटिरहने भन्दै नेता सापकोटाले गुण र दोषका आधारमा सर्मथन र विरोध गर्ने बताउनुभयो । मैले पार्टी छाडेपनि समाजसेवा छाडेको छैन, उहाँले भन्नुभयो- “सामाजिक कर्ममै आफ्नो जिवन व्यतित गर्ने योजना छ।”

तपाईको प्रतिक्रिया