नवलपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।

नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले भने लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । वर्षौंदेखि खोला किनारमा बस्ने र माछा मारेर जीविका चलाउँदै आएको यस समुदायले माछा मारेर जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् । अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका बोटे अगुवा मङ्गुराम बोटेले बताए ।

‘हामी बाबुबाजेको पालादेखि खोला किनारमै बस्दै आयौं, हामी र हाम्रा सन्तान पनि खोला किनारमै जन्मिने र हुर्किने गरे,’ उनले भने, ‘अबको समय भने बदलिएको छ, नयाँ पुस्ता माछा मार्न जानै छाडे, आफ्नो नाममा जमिन छैन ।’

जुन उम्मेदवारले जमिन र लालपुर्जा दिने प्रतिबद्धतासहित विश्वस्त पार्छन् उनै उम्मेदवारलाई मतदान गर्ने आफूहरूको सोच भएको बोटेले बताए । ती समुदायका मानिस बस्दै आएको ठाउँमा विभिन्न समयमा जग्गा नापी गरिएको भए पनि हालसम्म आफूहरूको हातमा लालपुर्जा प्राप्त नभएको उनीहरूको भनाइ छ ।

ब्रम्हस्थानकै डम्मरबहादुर बोटेले विसं २०५२÷२०५४ लगायत विभिन्न समयमा आफूहरू बसोबास गरेको ठाउँमा नापी भएको उल्लेख गर्दै हालसम्म लालपुर्जा नपाएको गुनासो गरे । ‘विसं २०५२÷५४ पछि पनि धेरैपटक यहाँ जग्गा दिने भन्दै आश्वासन बाँड्न नेता आएका छन्,’ उनले भने, ‘भोट माग्न आउने नेतालाई जिताएर पठायौं । तर, उनीहरूले लालपुर्जा दिनु त परको कुरा हो, चुनाव जितेपछि फर्केर पनि आउँदैनन् ।’

निर्वाचनका बेला बोटे समुदायलगायत सुकुम्बासीको मत निर्णायक हुने भए पनि निर्वाचन जितेपछि उनीहरूको अवस्थाका बारेमा कमैले जानकारी लिने गरेको उनको भनाइ छ ।

जग्गा र लालपुर्जासँगै आफूहरूलाई सीप र रोजगारीको आवश्यकता भएको आइतीमाया बोटेले बताइन् । ‘हामीसँग माछा मारेर खानेबाहेकका अन्य कुनै पनि सीप छैनन्,’ उनले भने, ‘सधैंभरि माछा मारेर खान पनि पुग्दैन, हिजोआज त नारायणीमा माछा मार्नका लागि पनि निकुञ्जले अवरोध गर्ने गरेको छ । त्यसैले अब सीप सिकाएर हामीलाई रोजगार दिनुपर्छ ।’ आफ्ना बालबालिका विद्यालय जानै नमान्ने अवस्था रहेको भन्दै बोटेले बालबालिकालाई विद्यालय पुगेर पढ्ने–लेख्ने वातावरण गराउनु पनि जनप्रतिनिधिको दायित्व भएको बताइन् ।

पहिलोपटक मतदानमा सहभागी हुने तयारीमा रहेका बोटे समुदायका युवा भने मतदानमा उत्साहीसँगै आफूहरूको अवस्था परिवर्तन आउनेमा आशावादी छन् । ‘बोटे समुदायका केही युवाले उच्च शिक्षासमेत हासिल गरेका छन्,’ पहिलोपटक मतदान गर्ने तयारीमा रहेका युवा प्रमोद बोटेले भने, ‘उनीहरूलाई योग्यताअनुसारको रोजगारी र बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बन्न प्रेरित गर्नुपर्छ ।’ नारायणी नदीले छोएको जिल्लाको स्थानीय तहहरूमा बोटे समुदायको बसोबास छ ।

जिल्लाको गैैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी किनारका गाउँमा सो समुदायको बसोबास छ । यहाँ बसोबास गर्ने अधिकांश बोटे समुदायका मानिस सुकुम्बासी अवस्थामा छन् । एघारौं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० हजार ३९७ जना बोटे समुदायका मानिस छन् भने सबैभन्दा बढी नारायणी तथा कालीगण्डकी नदी किनारमा बसोबास गर्छन् । रासस

तपाईको प्रतिक्रिया