नवलपुर  । नवलपरासी(पूर्व)मा सुरक्षित मातृत्वको अवस्था बढ्दो क्रममा रहेको पाईएको छ । स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)को गत पाँचवर्षको तथ्यांक हेर्दा जिल्लामा सुरक्षित मातृत्वको अवस्था प्रभावकारी बन्दै गएकाे  पाईएको हो ।

आर्थिक वर्ष २०७४।७५ मा स्वास्थ्यसंस्थामा नियमित गर्भ परिक्षण गराउनेको संख्या १४.५ प्रतिशत रहेको छ भने २०७५।७६ मा १९.८ प्रतिशत रहेको देखिएको छ । त्यसैगरी २०७६।७७ मा १८.३ प्रतिशत र २०७७।७८ मा १९.३ र यस आर्थिक वर्षको पौष मसान्तसम्म १६.२ प्रतिशत रहेको छ ।यसैगरी सुत्केरी भएपश्चात २४ घण्टाभित्र तीनदिनमा र सातौदिनमा स्वास्थ्य परिक्षण गराउनेहरुको संख्या क्रमश ७, ९, १०,१८ र २१ प्रतिशत रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जिल्लामा सुरक्षित मातृत्वको अवस्थामा हरेक वर्ष सुधार आएको बताउनुभयो । हाम्रो जिल्लामा सुरक्षित मातृत्वको अवस्था राम्रो छ, उहाँले भन्नुभयो आगामी वर्षमा थप प्रभावकारी बनाउन योजना बनाउदै छौ ।जिल्लामा सुरक्षित मातृत्वको दरलाई बढाउको लागि बर्थिङसेन्टरहरु थप गर्नुपर्नेमा स्वास्थ्य कार्यालयको सुझाव छ ।

जिल्लाका ८ स्थानीयतहरुका ९२ वडामध्ये १८ वडाहरुमा मात्रै हाल बर्थिङसेन्टर सञ्चालनमा रहेको छ ।गैँडाकोट नगरपालिकामा २, देवचुली नगरपालिकामा २, कावासोती नगरपालिकामा २, मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ३ , बुलिङटारमा २ , बौदीकालीमा २ र हुप्सेकोट गाउँपालिकामा २ वटा बर्थिङसेन्टर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया