×

रश्मिता पोखरेल

कोरोना भाइरसका कारण गएको चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो । कलकारखाना, उद्योगधन्दा, व्यापार, स्कुल, कलेज, यातायातलगायत सबै अहिलेसम्म पनि प्रायः बन्द नै छन् । यसले आर्थिक, सामाजिक, मानसिक रुपमा सबैलाई असर गरेको छ्र । आखिर कहिलेसम्म हामी घर मै बस्ने त ? आजको दिनसम्म पनि यो प्रश्नको उत्तर कसैसँग छैन होला । अहिले पनि दिन प्रतिदिन संक्रमितको संख्या बढ्ढो छ । अवस्था झन् जटिल बन्दै छ्र । हरेक क्षेत्रमा कुनै न कुनै ढङ्गले असर पारेपनि म आफु पनि एक विद्यार्थी भएको नाताले शैक्षिक क्षेत्रमा पारेको प्रभावलाई भने अझ राम्रोसँग भोगेकी छु ।
नयाँ शैक्षिक सत्रको पाचौँ महिना बितिसक्दा पनि अझै विद्यालयहरु खुलेका छैनन् भने कहिले खुल्छ भन्ने कुराको टुङ्गो समेत सरकारी अधिकारीहरुले लगाउन सकेका छैनन् । अहिलेको कोरोनाको स्थिति हेर्ने हो भने विद्यालय खोल्न असम्भव नै देखिन्छ । यसकारण पनि विद्यार्थीको पूरै सत्र खेर जाने सम्भावना छ । विद्यालय तथा कलेजहरु महिनौँ वा वर्षभर नै सञ्चालन नहुन सक्ने सम्भावना समेत उत्तिकै छ ।
विद्यार्थीको बेहाल
नेपालमा कक्षा १ देखि १२ सम्म करिब ७० लाख विद्यार्थीहरु अध्ययनरत छन् भने करिब आठ लाख विद्यार्थी पुर्व कक्षामा अध्ययनरत छन् । विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संख्या जोड्दा अझ यो बढि हुन्छ । कक्षा १ देखि ९ सम्मको परीक्षा भने लकडाउन पहिले नै सबै जसो विद्यालयले लिइसकेका थिए भने अन्य परीक्षाहरु स्थगित भएका थिए । स्थगित भएका परीक्षाहरु आजको दिनसम्म भएका छैनन् । जसले गर्दा विद्यार्थी अन्योलमा परेका छन् । कक्षा १० को भने परीक्षा नै नदिइकन आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशित गरिएको छ भने कक्षा ११ को परीक्षाको जिम्मा विद्यालयलाइ नै दिएको छ । कक्षा १२ र विश्वविद्यालयका विभिन्न संकायको परीक्षाको भने अझै टुङ्गो लाएको छैन । विद्यार्थीहरु अझै पनि परीक्षा हुने नहुने दोधारमा छन् । सरकारले बेला बेला परीक्षा हुने भन्दै समाचार पनि प्रकाशित ग¥यो । विद्यार्थीहरु परीक्षा दिन पटक पटक तयारी अवस्थामा पनि रहे । तर विद्यार्थीहरुले तयारी थालेपछि पनि फेरि परीक्षा नहुने सुचना आयो । आखिर कहिलेसम्म यो दोधारको बीचमा विद्यार्थीहरुले तयारी गरिरहनुपर्ने हो ?
अहिले परीक्षा केन्द्रमा गई परीक्षा दिन भने सहज छैन । त्यसैले देशको अवस्था यस्तो हुँदाहुँदै सरकारले परीक्षा हुने भन्दै समाचार निकाल्दा विद्यार्थीहरुले अनावश्यक मानसिक तनाब खेप्नुपरेको छ । कतिपय माथिल्लो तहका विद्यार्थीहरु घर भन्दा टाढा कलेज नजिकै डेरा गरेर बसेका हुन्छन् । कोरोनाको कहर सुरु भएसँगै सबैजना डेराबाट घर गएका थिए । अवस्था छिट्टै सहज हुने सोचेर धेरैले किताब नबोकि घर गए । यस्तो बेलामा परीक्षा हुने सूचना निकाल्दा तयारी गर्नको लागि किताब नहुनेलाई झन् तनाव भएको थियो । यसैले अब परीक्षा लिने अवस्था नभएसम्म हचुवाको भरमा यस्तो निर्णय सरकारबाट नहोस् भन्ने आशा छ । यस्तो परिस्थितिमा बेलाबेला परीक्षाका कुरा उठाउनु भन्दा अवस्था सहज भएपछि मात्र हुन्छ भन्ने धारणा बनाउनु र त्यस्तै सूचना एवम् समाचार सम्प्रेषण गर्नु राम्रो हुन्छ ।
बिकल्प खोजौँ
शिक्षा नियमावली वमोजिम बैशाख १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र शुरु हुने व्यवस्था छ । विश्वविद्यालय तहका पनि आ–आफ्नै निर्धारित क्यालेण्डर छन् । अहिले भने विधालय र विश्वविद्यालयहरुले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गरेपनि वैकल्पिक शैक्षिक कार्यक्रमहरु (रेडियो, टिभी, अनलाइन) सबै विद्यार्थीको पहुँचमा छैन । विद्यार्थीहरुमा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको उपलब्धतामा अझै समस्या छ । सबै विद्यार्थीहरुले शैक्षिक कार्यमा सहभागी नहुँदासम्म शैक्षिक सत्र सञ्चालन भएको मान्यता दिन सकिँदैन । यसैले सबै विद्यार्थीलाई कुनै न कुनै तरिकाबाट शैक्षिक कार्यमा सहभागी गराउने विकल्प खोज्नुपर्छ । अहिलेको परिस्थितिमा कुनै एकल विकल्प भन्ने हुँदैन । विद्यार्थीको क्षमता, पहुँच र स्तर हेरेर सबै विधिलाई अगाडि लैजानु जरुरी छ ।
अहिलेको अवस्था हेर्ने हो भने परीक्षा केन्द्रमा गएर पहिले झै परीक्षा दिन सम्भव छैन । परीक्षा लिने नै हो भने पनि वैकल्पिक तरिका अपनाउनु पर्छ । यस्ता वैकल्पिक तरिका विभिन्न संकायपिच्छे फरक पनि हुन सक्छन् । तर समग्रमा अबको परीक्षका बारे यस्ता वैकल्पिक तरिकाबारे सम्बन्धित पक्षले बहस गर्नु जरुरी छ । जसले विद्यार्थीलाई त सहज गराउँछन नै, शैक्षिक सत्र कायम गराउन पनि सबैलाई मद्दत पु¥याउने छ ।
अनलाइन परीक्षा
अनलाइन परीक्षा एउटा राम्रो विकल्प हो । तर नेपालको परिवेशमा यो त्यति प्रभावकारी होला जस्तो लाग्दैन । बाहिरी मुलुकहरुमा अनलाइन कक्षा र परीक्षाबाट नै पठनपाठन अघि बढाइएको छ र प्रभावकारी पनि देखिएको छ तर नेपालको परिपाटी हेर्ने हो भने यो सबैलाइ सम्भव छैन । कतिपय ठाउँहरुमा फोन गर्न त रूख चढ्नुपर्ने बाध्यता छ भने त्यस्तो ठाउँहरुमा अनलाइन परीक्षा भनेको असम्भव नै छ । यो सम्भव बनाउनको लागि सबै ठाउँमा बिजुली र इन्टरनेट कनेक्सन को आवश्यकता पर्दछ । यसैले यो विधि तत्काल नेपालमा सम्भव देखिन्न ।
आन्तरिक मुल्याङ्कन
कक्षा १० को अर्थात् एसइई परीक्षा पनि यसअघि स्थगित भएकोे थियो । तैपनि सरकारले साहस गरेरै भएपनि गत भदौ १ गते विधालयको आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशित ग¥यो । यद्दपि यो नतिजा पनि विवादको शिकार भयो । कतै विद्यार्थीको हैसियत भन्दा धेरै अङ्क दिएको भन्ने भनाइहरु पनि आए । कतै नम्बर कम पाएको भनेर आफैले पढाएका विद्यार्थीबाट शिक्षक पनि कुटिए । सिन्धुलीको घटना सबैको मानसपटलमा ताजै हुनुपर्छ । एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई गत आइतबार कुटपिट गरेका थिए । विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका थिए ।
फेरि पनि यो विधि अपनाइयो भने विवाद त अवश्य आउनेछ । सबै प्रक्रियाका राम्रा र नराम्रा पाटा त हुन्छन् नै, एउटै सिक्काका दुई पाटा झैँ । यस्तोमा कम विवाद हुने कुरालाई यो कोरोना प्रकोपका बेला अपनाउनु जरुरी हुन्छ । यसैले विवादित नहुने ढङ्गले विद्यार्थीको सहि मुल्याङ्कन गरी नतिजा प्रकाशित ग¥यो भने यो विधि नै उपयुक्त देखिन्छ ।
अन्ततः यो जटिल परिस्तिथिलाइ हामी सबैले मिलेर पार गर्नुपर्छ । अहिलेलाई जीवन रक्षा नै सबैभन्दा ठूलो पक्ष हो । यसलाई आत्मसात गर्दै शैक्षिक सत्रलाई खेर नजाने किसिमले विद्यार्थीको भविष्य निर्माण गर्न सकियो भने शैक्षिक विकासले गति लिन सक्नेछ ।

rashmetapokhrel121@gmail.com

(पोखरेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीएस्सी सीएसआइटी तहको छैठौँ सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया