गैडाकोट–२ को सामान्य घरभित्र आज असामान्य खुसीको माहोल छ। त्यही घरकी कान्छी छोरी तेजस्वी पन्त ले एसइई परीक्षामा ४ जीपीए ल्याएर परिवार, विद्यालय र समाज सबैलाई गर्व गर्ने अवसर दिएकी छिन्।
आज उनलाई गैडाकोट इङ्लिस स्कुलले १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। सम्मान समारोहले उनको मेहनत, लगन र सफलताको यात्रालाई अझ विशेष बनाइदिएको छ।
तेजस्वी सानैदेखि फरक सपना बोकेर हुर्किएकी थिइन्। उनको लक्ष्य एस्ट्रोनट बन्ने थियो। आकाश छुन चाहने त्यो बालसपना अहिले भने नयाँ मोडमा पुगेको छ। उनी भन्छिन्, “सानैदेखिको टार्गेट एस्ट्रोनट बन्ने थियो, तर अब मेडिकल फिल्डतिर जानुपर्ला जस्तो लागेको छ। अपरेशनहरू मलाई निकै मन पर्छ।”
उनको सफलताको पछाडि सबैभन्दा ठूलो शक्ति परिवार बनेको छ। बुवा कृष्णप्रसाद पन्त पेशाले कानून व्यवसायी हुन् भने आमा गृहिणी। पढाइको रातहरूमा आमाले कहिल्यै उनलाई एक्लो महसुस हुन दिनुभएन। “राति अबेरसम्म पढ्दा आमाले कफी–चिया बनाएर दिनुहुन्थ्यो। निद्रामै भए पनि मेरा कुरा सुन्नुहुन्थ्यो,” तेजस्वी भावुक हुँदै सम्झिन्छिन्।
घरकी कान्छी छोरी भएकी उनलाई दाजुको पनि निरन्तर साथ र प्रेरणा मिल्थ्यो। उनका दाजु आइटी अध्ययनपछि हाल काठमाडौँमा रोजगारी गर्दै छन्।
विद्यालय र शिक्षकहरूको भूमिका पनि उनको सफलतामा उत्तिकै महत्वपूर्ण रह्यो। गैडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले तेजस्वीको उपलब्धिले विद्यालयलाई गर्विलो बनाएको बताए। उनका अनुसार उनी मेहनती, अनुशासित र लक्ष्यप्रति स्पष्ट विद्यार्थी हुन्। “उनी निरन्तर मेहनत गर्ने र सिक्न कहिल्यै नथाक्ने विद्यार्थी हुन्,” प्राचार्य अर्यालले भने। उनले विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइरहेको पनि बताए।
सम्मान समारोहमा बुवा कृष्णप्रसाद पन्त छोरीको सफलतामा भावुक देखिन्थे। छोरीको नाम उच्चारण हुँदै गर्दा उनको आँखामा खुसीका आँसु देखिन्थे। उनले सामाजिक सञ्जालमा प्राप्त बधाई र विद्यालयले दिएको सम्मानलाई आफ्नो जीवनकै ठूलो उपलब्धि भन्दै भने, “यो पुरस्कार हाम्रो लागि करोड बराबरको हो।”
सानो घर, ठूलो सपना र निरन्तर परिश्रमको यो कथा आज धेरै विद्यार्थीका लागि प्रेरणा बनेको छ। डाक्टर बन्ने लक्ष्यतर्फ अघि बढिरहेकी तेजस्वी पन्तको यात्रा अझै सुरु मात्र भएको छ—तर उनको संघर्ष र सपनाले धेरै युवालाई आफ्नो भविष्यप्रति विश्वास दिलाइरहेको छ।





उज्यालो खबर




