×

चितवन- चितवनको कालिका नगरपालिका–जुटपानीमा प्रहरीको भेषमा चोर घरमा पसेको घटना सार्वजनिक भएको छ। उक्त घटना स्थानीय पत्रकार राधेश्याम खतिवडासँगै सम्बन्धित रहेको  छ।पत्रकार खतिवडाका अनुसार गएरात उनी नजिकैका अन्कलको घरमा भाइसँग क्रिकेट खेल हेर्न गएका थिए। रातको करिब १२ बजे खेल सकिएपछि घर फर्किँदा घर अगाडिको बत्ती र सडक पोल दुवै निभेका थिए।

“घर नजिक पुग्दा अध्यारोमा एक अपरिचित युवक ढोकाबाट निस्किँदै गरेको देखेँ,” खतिवडाले बताए, “पहिले त प्रहरी हो कि भन्ने लाग्यो, तर उसको हाउभाउ र बोलीले शंका लाग्यो।”उक्त व्यक्तिले आफू प्रहरी भएको र “कारागारबाट भागेको कैदी खोज्दै हिँडेको” भन्दै छल्ने प्रयास गरेको खतिवडाले बताए। उनका अनुसार ती युवकले प्रहरीको टल्किने जकेट र माक्स लगाएका थिए।

“लबाइ, हाउभाउ र कुरा सुन्दा साँच्चै सुरक्षाकर्मीझैँ देखिन्थ्यो,” उनले भने, “तर पछि घर फर्किँदा झ्याल खोल्ने प्रयास, जुत्ता र सामान इधरउधर गरिएको पत्ता लाग्यो।”घटना पत्ता लागेपछि खतिवडाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर विवरण संकलन गरेको र फोटो खिचेको उनले बताए।

प्रहरीले पछिल्ला दिनमा प्रहरी वा सेनाको भेषमा चोरी गर्ने समूह सक्रिय रहेको जनाउँदै सर्तक रहन आग्रह गरेको छ।“रातको समयमा प्रहरीकै पोसाक र हतियार लिएर गाउँघरमा चोरी गर्ने समूह सक्रिय छन्,” प्रहरी स्रोतले भने, “यस्ता गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ।”

घटनापछि सो क्षेत्रमा त्रास फैलिएको छ। स्थानीयले राति गस्ती बढाउन र सार्वजनिक बत्ती सञ्चालनमा ल्याउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया