
नवलपुर- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा निर्माणाधीन सरकारी भवनमा काम गर्ने क्रममा करेन्ट लागेर एक कामदारको ज्यान गएको छ।
सोमबार दिउँसो करिब १ बजेतिर कावासोती नगरपालिका–३ स्थित नमुना सदरमुकाममा भवनको सभा हलमा फर्मा सेटिङका लागि ड्रिल गर्ने क्रममा बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–२ घर भई हाल कावासोती नगरपालिका–२ मा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुलाई करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका थारुलाई उपचारका लागि तत्कालै मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो।
उक्त भवन निर्माणको जिम्मा समानन्तर जे.बि. (संयुक्त लगानी) अन्तर्गत बुद्ध हिमाली कन्स्ट्रक्सन प्रा.लि.ले लिएको हो। मृतक थारु सोही निर्माण कम्पनीमा मिस्त्रीको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।