
डा. विश्व बन्धु बगाले
नेपालमा किटजन्य रोगहरूको प्रकोप बढ्दै गइरहेको यथार्थ हामी सामु प्रष्टै छ । औंलो, डेंगु, जापानिज इन्सेफलाइटिस, कालाज्वर, हात्तीपाइले आदि रोगहरू गराउने कारक जीवहरु लामखुट्टे वा लामखुट्टे जस्तै किटाणुहरूको माध्यमबाट सर्ने गर्दछन् । यी रोगहरू लामखुट्टेबाट हुने होइन तर लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू हुन् । लामखुट्टे वा किटाणुले बिरामी मानिसको रगत चुस्दा यी रोग गराउने कारक जीवहरू पनि चुस्छ र लामखुट्टेमा एक तहको जीवनचक्र सम्पन्न गर्छन् । पुनः संक्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा यी रोगका कारक जीवहरू स्वस्थ मानिसको रगतमा प्रवेश गर्छन् । मानिसको रगतमा प्रवेश गरिसकेपछि रोकका लक्षणहरु उत्पन्न गराउँछन् ।
रोगका कारक जीवाणुहरु लामखुट्टे वा किटाणुबिना आफै स्वस्थ मानिसको शरीरमा अन्य माध्यमबाट प्रवेश गर्न सक्दैनन् । त्यसैले लामखुट्टे वा किटाणु माध्यम (भेक्टर) बन्ने रोगलाई किटजन्य रोग (भेक्टर बर्न डिजिज ) भनिन्छ ।
किटजन्य रोगहरूमा बिरामीको उपचार सँगसँगै लामखुट्टे वा किटाणुको बारेमा अध्ययन अनुसन्धान र जानकारी हुनु अति नै आवश्यक छ । ‘भेक्टर’ को विविध पाटोहरूका बारेमा अध्ययन गर्ने विधिलाई ‘भेक्टर सर्भिलेन्स’ भनिन्छ । लामखुट्टेका विभिन्न प्रजातीहरू र ‘भेक्टर’को काम गर्ने लामखुट्टे बाहेकका अन्य किटाणुहरूको अध्ययन र अनुसन्धान नियमित भइरहनु पर्ने विषय हो ।
नेपालमा हाल ‘भेक्टर सर्भिलेन्स’ का गतिविधिहरू शुन्य प्रायः छन् । महामारीका रूपमा रोग देखा परिसकेपछि मात्र हामी सबैको ध्यान त्यस तर्फ केन्द्रीत हुनु यस्ता गतिविधि घट्नु प्रमुख कारण हो । अहिले हाम्रो देश डेंगु र जापानिज इन्सेफलाइटिसको ‘महामारी’ को अवस्थामा छ । ‘भेक्टर सर्भिलेन्स’ नियमित भइराखेको भए सायद हामी यस्तो विकराल अवस्था सिर्जना हुनुबाट जोगिन सक्थ्यौं अथवा हामीसँग पूर्व तैयारी गर्ने समय हुन्थ्यो ।
‘भेक्टर सर्भिलेन्स’ किटजन्य रोग सार्ने किटाणुहरूको चालचलन, आनिवानी, तिमीहरूको प्रकार, स्वरूप परिवर्तन, भौगोलिक अवस्थिति लगायतका विषयमा अध्ययन गर्ने एउटा विधि हो । माथि नै भने झैं यो प्रकोप बढेपछि मात्रै खोजबिन हुनुपर्ने वा शुरू हुनुपर्ने विषय पटक्कै होइन । हाम्रो जस्तो बढ्दो अव्यवस्थित शहरीकरण र स्वास्थ्य सचेतना कम भएको ठाउँमा त झन् यो वर्षभरि नै हुनु पर्ने विषय हो । हिमालमा कसरी तराई अथवा उष्ण भूभागमा हुने रोगहरू देखा परे त ? पोहोर सालको भन्दा यो साल किन डेंगु र इन्सेफलाइटिसको प्रकोप बढ्यो त रु डेंगुमा पहिलेका तुलनामा मृत्युदर बढी किन हुँदैछ त ? यी र यस्तै यावत् प्रश्नहरूको उत्तर ‘भेक्टर सर्भिलेन्स’ बिना सम्भव छैन ।
मानव बसोबास र लामखुट्टे बीच हाम्रो जस्तो देशमा अन्ययोन्याश्रित सम्बन्ध छ भन्दा हुन्छ । हाम्रा हरेक गतिविधिहरूले लामखुट्टेका संख्यामा वृद्धि गराउने अवस्था त छ नै सँगसँगै जलवायु परिवर्तनको पनि उत्तिकै महत्व छ । तापक्रममा वृद्धिसँगै लामखुट्टेको संख्यामा वृद्धि हुन गई यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने कुरा पनि पुष्टि भइसकेको विषय हो । किटजन्य रोगहरूको प्रकोप न्यूनिकरण र जनस्वास्थ्यको प्रबद्र्धनका निम्ति प्रकोप बढेका बेलामा रोग पत्ता लगाएर मात्र पुग्दैन । प्रकोपका पछाडिका विविध आयाम खोज्न अत्यन्तै जरुरी छ र यसको एउटै समाधान नियमित ‘भेक्टर सर्भिलेन्स’ नै हो ।
(डा.बगाले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका निर्देशक हुनुहुन्छ )