चितवन । चितवनको रत्ननगर नगरपालिकाले सरुवा गरेको विरोधमा यहाँको एक विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई सडकमा ल्याएर सरुवा थमौतीको लागि आन्दोलन गराएका छन् ।नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको आन्तरिक सरुवा गरेको थियो । तीमध्ये रत्ननगरको टाँडी बजारमा रहेको नेपाल माध्यमिक विद्यालयका १० जना शिक्षक परेका थिए ।
शिक्षक सरुवाको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरुले र्यालीसहित आज नगरपालिका पुगेर ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नाराजुलुस गरेका हुन् ।रत्ननगर नगरपालिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्र बरालका अनुसार नेपाल माविमा अध्यापनरत १० मध्ये दुई जना शिक्षकमात्रै ५ वर्षभन्दा कम समयदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आएका छन् । बाँकी ८ जना पाँच वर्षभन्दा बढी समयदेखि पढाउँदै आएका हुन् ।
पत्र प्राप्त भएपछि विद्यालयका ससाना विद्यार्थी उचालेर नेपाल माध्यमिक विद्यालयका शिक्षकहरुले पालिकामा प्लेकार्डसहित ल्याएकोमा आफूहरुले सम्झाएर विद्यालय पठाएको उनले जानकारी दिए ।विद्यालयका शिक्षक हरि खवास भने नगरपालिकाले मनोमानी ढंगबाट कार्यविधिविपरीत सरुवा गरेको आरोप लगाउँछन् । उनले तीन दिनअघि सरुवा रोक्न दिएको ज्ञापनपत्रमा सुनुवाइ नगरेपछि विद्यार्थीले स्वस्फूर्त आन्दोलन गरेको दाबी गरे ।


उज्यालो खबर