×

कावासोती । नवलपुर–२ का काँग्रेस उम्मेदवार ओम बहादुर घर्तीले नदी कटान नियन्त्रण, निकुञ्ज प्रभावित क्षेत्रका समस्या समाधान तथा सुकुम्बासी व्यवस्थापनका लागि विद्यमान ऐन–कानुन संशोधन अपरिहार्य रहेको बताएका छन्। काँग्रेसका तर्फबाट उम्मेदवार बनेका घर्तीले निर्वाचनपछि नीतिगत तथा संरचनागत सुधारमार्फत क्षेत्रको दीर्घकालीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मध्यविन्दु नगरपालिका–२ र ४ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले नारायणी नदी कटानलाई यस क्षेत्रको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन तटबन्ध निर्माण गरिने बताए। तटबन्धसँगै नदी करिडोर विकासको अवधारणा अघि सार्दै उनले कटानबाट प्रभावित भई क्षतिपूर्ति नपाएका नागरिकलाई कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने स्पष्ट पारे।

त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले भोग्दै आएको समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन आवश्यक रहेको उनको भनाइ छ। यस विषयलाई आफूले प्राथमिकताका साथ उठाउने उनले बताए।

लामो समयदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या पनि कानुनी सुधारबिना समाधान सम्भव नरहेको उल्लेख गर्दै उनले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले स्पष्ट नीति र कार्यक्रममार्फत समाधानको बाटो खोल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा घर्तीले गिरुबारी खोला, अरुणखोला र डन्जर खोलामा तटबन्ध निर्माण गर्ने योजना सार्वजनिक गर्दै आधुनिक कृषि प्रणालीमार्फत कृषिको व्यवसायीकरण गरिने र यसबाट किसानको आयआर्जन तथा जीवनस्तर उकासिने दाबी गरे।

तपाईको प्रतिक्रिया