×

नवलपुर – युवा नेता दिपकचन्द्र बस्ताकोटीले नवलपुर–१ बाट राष्ट्रीय प्रजातन्त्र पार्टीको उम्मेदवारी दिँदै आगामी चुनावमा आफ्नो विजयको दाबी गरेका छन्। २०४६ को जनआन्दोलनसँगै १७–१८ वर्षको उमेरमै राजनीतिमा होमिएका बस्ताकोटीले स्थानीय मुद्दा र विकासका कार्यक्रममार्फत जनताको विश्वास जित्ने लक्ष्य राखेका छन्।

दिपक बस्ताकोटी, पूर्व सांसद स्व. दामोदर बस्तीकोटीका नाति, राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि परिचित छन्। उनले भने, “स्थानीय आवश्यकता र मुद्दाहरूलाई सिंहदरबारसम्म पुर्‍याउने हो। विकास माग्न मात्र होइन, हामी मिलेर आफ्नो भूगोलमा गरेर देखाउने हो। संसदमा पुगेर जनताका पक्षमा नीति बनाउने हो।”

सानैदेखि समाजसेवामा सक्रिय बस्ताकोटीले आफ्नो प्राथमिकताका रूपमा नवलपुर–१ का पहाडी बस्तीहरूमा आन्तरिक पर्यटन विकास, कृषि सडक सञ्जाल विस्तार, व्यावसायिक प्राविधिक शिक्षा प्रवर्द्धन, नागरिक आरोग्य केन्द्र निर्माण, स्थानीय उपजमा आधारित उद्यम प्रवर्द्धन, किसान सहयोग केन्द्र स्थापना, खानेपानी तथा सिँचाइ व्यवस्थापन, युवा रोजगारी सिर्जना, पर्वतीय सौन्दर्यकरण, नदी पर्यटन, र स्थानीय कला तथा जनजातीय संस्कृतिको संरक्षणलाई अघि सारेका छन्।

भित्री मधेश क्षेत्रमा उनले नदी कटान नियन्त्रण, भग्न भृकुटी कारखाना परिसरमा साझा सांस्कृतिक नमुना गाउँ निर्माण, कावासोती र देवचुलीमा अर्ग्यानिक कृषि उद्योग स्थापना, देवघाटधाम–त्रिवेणी–देवचुली–घुमारी धार्मिक सर्किट निर्माण, र प्राकृतिक सौन्दर्य पार्कहरू विकास गर्ने योजना सार्वजनिक गरेका छन्।

उनले ठूला दलहरूको असफलतामा ध्यानाकर्षण गराउँदै राष्ट्रिय स्वाभिमान कमजोर भएको र जनता–राजा मेल भए देश पुनः गौरवशाली मार्गमा फर्कने उल्लेख गरे।

तपाईको प्रतिक्रिया