×

चितवन- जिल्लामा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्याल आफैँ फिल्डमा खटिएका छन्। विशेषगरी भरतपुर का मुख्य बजार क्षेत्रमा ट्राफिक तथा पार्किङ व्यवस्थापनलाई व्यवस्थित गर्ने सर्वसहमतिको निर्णयसँगै अभियान सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने सवारीसाधनमाथि कडाइ गरिएको छ। नियम उल्लंघन गर्ने सवारीलाई जरिवाना गरिनुका साथै आवश्यक परे नियन्त्रणमा लिने कार्य थालिएको जनाइएको छ। यस कदमले बजार क्षेत्रमा देखिँदै आएको ट्राफिक जाम कम गर्न, पैदल यात्रु र व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिडियो गणेश अर्यालले बजार क्षेत्रको अव्यवस्थित पार्किङ र ट्राफिक जामप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नियम कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारे। “सडक सबैको साझा सम्पत्ति हो, त्यसैले यसको प्रयोग पनि अनुशासित र व्यवस्थित हुनुपर्छ,” उनले भने, “जथाभावी पार्किङ र सडक अतिक्रमणलाई नियन्त्रण गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्छौं।”

स्थानीय प्रशासन, ट्राफिक प्रहरी र महानगरपालिकाबीच समन्वय गर्दै नियमित अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिसमेत गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया