×

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढेको छ। औपचारिक प्रचारप्रसार सुरु भएसँगै प्रमुख दलका उम्मेदवारहरू मतदाता भेटघाटमा सक्रिय छन्।

यस क्षेत्रमा रेनु दाहाल (नेपाल कम्युनिष्ट पार्टी) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकी छन्। भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुखसमेत रहेकी दाहालले आफ्नो नौ वर्षे कार्यकालमा अघि बढाइएका पूर्वाधार विकासका योजनालाई चुनावी एजेन्डाको केन्द्रमा राखेकी छन्। सडक सञ्जाल विस्तार, नदी तटबन्ध, शहरी पूर्वाधार सुधार तथा निकुञ्ज प्रभावित क्षेत्रका समस्या समाधानका लागि गरिएको पहललाई उनले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेकी छन्।

दाहालले संघीय संसदमा पुगेपछि नीति निर्माण तहबाट चितवनका दीर्घकालीन समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। निकुञ्ज ऐनका कारण देखिएका अवरोध हटाउन आवश्यक संशोधन, सुकुमबासीलाई लालपुर्जा वितरण, प्राविधिक शिक्षा विस्तार, कृषि र पर्यटन प्रवर्द्धन, साथै शिक्षा–स्वास्थ्य र रोजगारीका मुद्दा उनका प्राथमिकतामा रहेका छन्। उनले महानगर प्रमुखका रूपमा प्राप्त अनुभवलाई संघीय भूमिकामा उपयोग गर्ने दाबी गरेकी छन्।

यसै क्षेत्रमा सोविता गौतम (राष्ट्रिय स्वतन्त्र पार्टी), टेक प्रसाद गुरुङ (नेपाली कांग्रेस), दीपक थापा (राप्रपा) र शंकर थपलिया (नेकपा एमाले) पनि प्रतिस्पर्धामा छन्। उनीहरूले सुशासन, विकास निर्माणमा निरन्तरता, रोजगारी सिर्जना तथा राजनीतिक सुधारका एजेन्डा अघि सारेका छन्।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिका का १९ वडा र माडी नगरपालिका का ९ वडा गरी कुल २८ वडा रहेका छन्। सबै वडामा पुगेर मतदाता भेट्ने अभियान उम्मेदवारहरूले सञ्चालन गरिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा मतदाताहरू विकास, सुशासन र दीर्घकालीन समाधानमुखी योजनामा स्पष्ट दृष्टिकोण खोजिरहेका छन्। यस सन्दर्भमा दाहालको अनुभव र कार्यसम्पादन एक पक्षमा चर्चा भइरहँदा अन्य उम्मेदवारहरूले पनि आफ्ना वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्दै प्रतिस्पर्धालाई रोचक बनाएका छन्।

तपाईको प्रतिक्रिया