चितवन — अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को दोस्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव तथा कार्यक्रम संयोजक कल्याण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका नियम प्रेसिडेन्सी कलेज भरतपुरका प्राध्यापक तथा नेपाली विभाग प्रमुख अमृत ढकालले प्रस्तुत गर्नुभएको थियो।
वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा हेफर नेपालका निर्देशक डा. लेखनाथ अधिकारी र न्यू क्यापिटल कलेज, रत्ननगरका प्राध्यापक विष्णुप्रसाद पौडेल सदस्य रहनुभएको थियो। २४ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच निर्णायक मण्डलका संयोजक अमृत ढकालले नतिजा सार्वजनिक गर्नुभएको थियो।
प्रतियोगितामा स्मल हेभन मोडेल स्कूल, भरतपुर कक्षा ९ मा अध्ययनरत छात्रा सनिसा गौतम प्रथम, नारायणी ई. पब्लिक सेकेण्डरी स्कूल, भरतपुर कक्षा १२ का छात्र समीप खत्री द्वितीय, नारायणी नमूना माध्यमिक विद्यालय, भरतपुर कक्षा १० की छात्रा विपस्वी कुँबर तृतीय तथा लाइसियम इन्टरनेशनल मोडेल स्कूल, रत्ननगर कक्षा ९ की छात्रा रहिसा अधिकारी सान्त्वना हुनुभएको छ।
प्रदर्शनीको तेस्रो दिन पशुपालन र दुग्ध क्षेत्रसँग सम्बन्धित विविध विषयमा कार्यपत्र प्रस्तुति तथा प्यानल छलफल कार्यक्रम सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा डा. रविन वस्ताकोटीले पशुपालनमा देखिने रोग र उपचार विधि, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका प्रा.डा. उद्धव पनेरुले दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण, प्रा.डा. निराजन भट्टराईले प्रविधिमा आधारित गुणस्तरीय दुग्ध उत्पादन तथा सुधा डेरी, भारतबाट आधुनिक प्रविधिको प्रयोगबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ। साथै राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. हसना श्रेष्ठले नेपालमा दुग्ध क्षेत्रको वर्तमान अवस्था र भावी गन्तव्यबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, दुग्ध विकास संस्थानका अध्यक्ष डा. रामनन्दन तिवारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा. शरण पाण्डे, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अमर बहादुर कुँबर तथा डेरी उद्योग संघ/नेपाल डेरी एशोसिएसनका अध्यक्षलगायतको सहभागिता रहनेछ।
त्यसैगरी प्रदर्शनीको चौथो दिन दुग्ध क्षेत्रसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, उन्नत जातका गाईको प्रदर्शनी तथा सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उत्कृष्ट दुग्ध उत्पादक सहकारीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको सञ्चालन चितवन उद्योग संघका कार्यक्रम अधिकृत कल्पना आचार्यले गर्नुभएको थियो भने समापन चितवन उद्योग संघका उपाध्यक्ष गोपालप्रसाद गैरेले धन्यवाद मन्तव्यसहित गर्नुभएको थियो।





















उज्यालो खबर










