×

गैँडाकोट । नवलपुरको गैँडाकोटको राजनीतिमा ठूलो तरंग पैदा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गैँडाकोट केन्द्रित प्रभावशाली नेता करुणा सागर सुवेदी र ललित श्रेष्ठ नेपाली काँग्रेसमा पुनः प्रवेश गरेसँगै स्थानीय राजनीतिक वातावरण तातिएको हो ।

लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सुवेदी र श्रेष्ठ केही समयअघि रास्वपामा आबद्ध भएका थिए । तर चुनावको मुखमा पुनः काँग्रेसमै फर्किनुलाई गैँडाकोटको स्थानीय राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ ।

गैँडाकोटस्थित वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुवेदी र श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभएको हो । कार्यक्रममा स्थानीय तहका काँग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पुराना र अनुभवी नेताहरू पार्टीको मूल धारमा फर्किएकोमा काँग्रेसजन उत्साहित देखिएका छन् ।

गैँडाकोटमा पछिल्लो समय रास्वपाले बनाउँदै आएको संगठन र मताधारमा यस घटनाले गम्भीर धक्का पुग्ने आँकलन गरिएको छ । विशेषगरी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भएको यो पार्टी परिवर्तनले काँग्रेसलाई स्थानीय रूपमा थप मजबुत बनाउने र रास्वपाको प्रभाव कमजोर पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

सुवेदी र श्रेष्ठको राजनीतिक पकड, संगठनात्मक अनुभव तथा व्यक्तिगत सम्बन्धले गैँडाकोटका टोल–टोलसम्म प्रभाव पार्ने सम्भावना रहेको बताइन्छ। गैँडाकोटबाट सुरु भएको यो राजनीतिक हलचलले नवलपुर जिल्लाभरि नै प्रभाव पार्ने देखिएको छ। आगामी दिनमा अन्य नेताहरूको समेत राजनीतिक धार परिवर्तन हुन सक्ने चर्चा स्थानीय राजनीतिक वृत्तमा चुलिँदै गएको छ।

तपाईको प्रतिक्रिया