×

गैंडाकोट-  गैंडाकोट इङ्लिस स्कुल (GES) को आयोजनामा ‘जिईएस मिनी म्याराथन–२०८२’ यही माघ २४ गते (शनिबार) गैंडाकोटमा आयोजना हुने भएको छ। बिहान ७ बजे सुरु हुने म्याराथनको दूरी ६ किलोमिटर रहने आयोजकले जनाएको छ।

म्याराथनको सुरु तथा अन्त्य बिन्दु गैंडाकोट इङ्लिस स्कुल नै तोकिएको छ। निर्धारित रुटअनुसार दौड सिलान्यास चोक, मिलन चोक, नया बजार, हरे राम हरे कृष्ण मन्दिर, सुवा चोक, सितल चोक, बाघखोर तथा केबलकार स्टेशन हुँदै पुनः विद्यालय परिसरमा आएर समापन हुनेछ।

प्रतियोगितामा विद्यार्थी (छात्र/छात्रा), अभिभावक (पुरुष/महिला) तथा खुला (पुरुष/महिला) गरी विभिन्न विधामा सहभागिता रहनेछ। खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

विद्यालयका प्राचार्य हिरालाल अर्याल ले म्याराथनले विद्यार्थी, अभिभावक र समुदायबीच आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै भन्नुभयो,“आजको व्यस्त र प्रविधिमैत्री जीवनशैलीमा शारीरिक सक्रियता अत्यन्त आवश्यक छ। यस प्रकारका खेलकुद कार्यक्रमले विद्यार्थी मात्र होइन, अभिभावक र सम्पूर्ण समुदायलाई स्वस्थ जीवनतर्फ प्रेरित गर्छ। ‘जिईएस मिनी म्याराथन’ शिक्षासँगै स्वास्थ्यलाई पनि समान महत्व दिनुपर्छ भन्ने सन्देश बोकेको कार्यक्रम हो।”

कार्यक्रम रोटरी क्लब अफ गैंडाकोट सँगको सहकार्यमा आयोजना हुन लागेको हो भने एस.के. टेलरिङ, कालिगण्डकी चोक, गैंडाकोट ले सहयोग गरेको छ।म्याराथनमा सहभागी हुन इच्छुकले एकराज सुवेदी (९८४५२०९३९०) वा जीवन दवाडी (९८४११२८५०३) मा सम्पर्क गरी दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया