नवलपुर- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नवलपुर–१ को देवचुलीमा आयोजित क्षेत्रीय बैठकमा पार्टी एकता र आगामी फागुन २१ को निर्वाचनमा विजय सुनिश्चित गर्न कार्यकर्तालाई आह्वान गरेका छन्। उनले एमालेको उम्मेदवार भागीरथ सापकोटा निर्विरोध छनोट भएकाले क्षेत्रको जीत सुनिश्चित भएको बताएका छन्।
भट्टराईले बैठकमा भने, “नेकपा एमाले देशको अभिभावक हो। नवयुवाहरूका प्रश्न जायज छन् र हामीले त्यसलाई सकारात्मक दृष्टिले लिनुपर्छ। नवलपुर–१ हाम्रो बलियो क्षेत्र हो। यहाँ ५२ वडामध्ये २६ वडामा एमाले विजयी भएको छ भने तीनवटा पालिका प्रमुख पनि हाम्रो पार्टीका छन्।”
उनी भन्छन्, “फागुन २१ को निर्वाचनमा पार्टीलाई जिताउन सबैले कसम खाएर जुट्नुपर्छ। नवलपुर–१ मा भागीरथ सापकोटा उम्मेदवार निर्विरोध छनोट भएका छन्, यसले क्षेत्रको विजय सुनिश्चित गरेको छ।”
भट्टराईले देशभर एमाले एकताबद्ध रहेकोमा जोड दिँदै भने, “टिकट नपाएका व्यक्तिहरूले विवाद देखाउने प्रयास गरे पनि त्यो सत्य होइन। व्यक्तिगत मतभेदहरू भए पनि अब हामी अध्यक्ष ओलीसँग एकजुट छौं।”
उपमहासचिव भट्टराईले फागुन २१ को चुनाव देशको भाग्य र भविष्यसँग जोडिएको भन्दै सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।





















उज्यालो खबर










