×

कावासोती । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमबहादुर घर्तीले जनताको आवाजलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र निर्माणका लागि सुझाव संकलन अभियान सुरु गरेका छन् ।

आगामी पाँच वर्षका लागि नवलपुर–२ को समग्र विकासलाई दिशानिर्देश गर्ने उद्देश्यसहित उम्मेदवार घर्तीले सामाजिक सञ्जालमार्फत नागरिकसँग खुला रूपमा सुझाव माग गरेका हुन् । विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, वन तथा वातावरण, रोजगारी सिर्जना, औद्योगिक विकास, नारायणी नदी तटबन्ध तथा व्यवस्थापन, मध्यवर्ती क्षेत्र र निकुञ्ज, सूचना प्रविधि लगायतका विविध क्षेत्रमा गर्नुपर्ने कामबारे नागरिकका विचार संकलन भइरहेको उनले बताएका छन् ।

“म नवलपुर क्षेत्र नम्बर–२ का जनताको साझा उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएको हुँ,” घर्तीले भने, “जनताको आवश्यकता र प्राथमिकताअनुसार नै मेरो प्रतिबद्धता तय हुनुपर्छ भन्ने मान्यताका साथ सुझाव संकलन सुरु गरिएको हो।”

सबै नागरिकले सहज रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले अनलाइन र भौतिक दुवै माध्यमबाट सुझाव लिइँदै आएको घर्तीले जानकारी दिए । यसका साथै उनले विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी र सरोकारवालासँग प्रत्यक्ष भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् ।

नागरिक तहबाट प्राप्त सुझाव र विज्ञहरूको सल्लाहका आधारमा ठोस योजना तथा प्रतिबद्धता सार्वजनिक गर्ने तयारी भइरहेको घर्तीको सचिवालयले जनाएको छ ।लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका घर्ती नेपाली कांग्रेसभित्र सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासँग नजिक रहेर सक्रिय राजनीति गर्दै आएका नेता हुन् ।

तपाईको प्रतिक्रिया