×

नेपालमा पर्यटन र यातायात क्षेत्रमा नयाँ पहलका रूपमा, मौलाकाली केवलकार र लुम्बिनी केवलकारबीच आपसी सहकार्य गर्दै यात्रु सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। अब एउटामा यात्रा गरेका यात्रुले अर्को केवलकारको यात्रामा २० प्रतिशत छुट पाउनेछन्।

यस सम्झौतामा मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार छुट प्राप्त गर्न अघिल्लो यात्रा टिकट देखाउनु पर्नेछ र टिकट काटेको मितिबाट तीन महिनासम्म यो सुविधा उपलब्ध हुनेछ।

सुरज पौडेलका अनुसार, “हाल यात्रुहरूले अघिल्लो केवलकारको टिकट देखाएर छुट पाउन सक्नेछन्। भविष्यमा यसलाई अझ व्यवस्थित र सहज बनाउने योजना बनाइरहेका छौं।” प्रज्वल घिमिरेले भने, “यो सहकार्यले एकले अर्को गन्तव्य प्रवर्द्धन गर्ने अवसर दिनेछ, जसले पर्यटन विकासमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।”

मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ, जहाँबाट यात्रुहरूले १५औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सक्नेछन्। यस केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल संचालनमा छ, जसले यात्रुलाई आरामदायी अनुभव प्रदान गर्दछ।

त्यसैगरी, लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा रहेको छ, जहाँबाट यात्रुहरूले पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सक्छन्। वसन्तपुरमा पनि १५० कोठासहितको सुविधासम्पन्न होटल निर्माण भइरहेको छ, जसले पर्यटक र यात्रुहरूको आवास सुविधा अझ गुणस्तरीय बनाउनेछ।

मौलाकाली र लुम्बिनी केवलकारबीचको यो सम्झौता न केवल यात्रुहरूको आर्थिक लाभ सुनिश्चित गर्नेछ, तर दुबै गन्तव्यको प्रचार–प्रसारमा पनि मद्दत गर्नेछ। यसले स्थानीय पर्यटन क्षेत्रलाई उत्साहजनक सहयोग पुर्याउने विश्वास गरिएको छ।

यस सहकार्यमार्फत, अब यात्रुहरूले इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुभव कम खर्चमा लिन सक्ने भएका छन्। एक गन्तव्यको यात्रा मात्र होइन, अर्को गन्तव्यमा पनि छुट पाउने सुविधा प्राप्त भएपछि, नेपालका प्रमुख केवलकारहरू बीचको सम्बन्ध अझ मजबुत हुने देखिन्छ।

तपाईको प्रतिक्रिया