×

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लिग चरण अन्तर्गत आज अन्तिम खेल हुने भएको छ। अपराह्न ३ः३० बजे निर्धारित खेलमा कर्णाली याक्स र विगतको उपाधि विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

छ खेलबाट समान दुई–दुई अंक मात्र बटुलेका दुवै टोली प्रतियोगिताबाट पहिले नै बाहिरिएका छन्। त्यसैले आजको खेल दुवैका लागि प्रतिष्ठा जोगाउने अवसरका रूपमा रहनेछ।

यसैबीच, लिग चरण सकिनै लाग्दा प्लेअफ समीकरण स्पष्ट बनेको छ। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा पुगेको विराटनगर किङ्सले क्वालिफायरमा स्थान सुरक्षित गरेका छन्। दुवैबीचको पहिलो क्वालिफायर मंगलबार कीर्तिपुरमै हुने कार्यक्रम छ।

त्यसैगरी तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र चौथो स्थानमा पुगेको लुम्बिनी लायन्स इलिमिनेटर खेलमा भिड्नेछन्। उनीहरूबीचको प्रतिस्पर्धा बुधबार हुने छ, जहाँ विजयी टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको अवसर खोज्नेछ।

तपाईको प्रतिक्रिया