×

चितवन-  चितवनको भरतपुर महानगरपालिका–२३, जगतपुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–६, बछौलीका ३३ वर्षीय सुरेश महतोको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहान करिब १०:१५ बजे ७ नम्बर चोकबाट कसरा चोकतर्फ जाँदै गरेको लक्ष्मी माध्यमिक विद्यालयको बा.प्र.३–००१ ग ००२९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो। तर अस्पताल पुर्‍याउने क्रममा करिब १०:५० बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय गीतानगरबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ। घटनामा संलग्न बस र मोटरसाइकल दुवै प्रहरी नियन्त्रणमा रहेका छन्। साथै बस चालक भरतपुर–२३ का ४३ वर्षीय सुखबहादुर दर्नालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया