चितवन — अर्थ मन्त्रालयले रकम निकासा गरिसके पनि भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बक्यौता भुक्तानी गर्न आनाकानी गरिरहेको छ।धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेल ‘धुर्मुस’ बुधबार आफैं अर्थ मन्त्रालयको पत्र लिएर महानगर कार्यालय पुगेका छन्।
चालु आर्थिक वर्षको बजेटमा नै रंगशालाको निर्माणाधीन संरचना खरिद शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको प्राविधिक मूल्यांकनका आधारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमै उक्त रकम व्यवस्थापन हुने उल्लेख गरेका थिए।
संस्थानले अध्ययनपछि फाउन्डेसनबाट करिब ६० करोड मूल्यको संरचना महानगरले प्राप्त गरेको निष्कर्ष निकालेको थियो। महानगरले त्यसको स्वामित्व फाउन्डेसनबाट ग्रहण गरे पनि निर्माणका क्रममा लागेको १८ करोड ४१ लाख रुपैयाँ ऋण भुक्तानी गर्न भने चासो देखाएको छैन।
उक्त ऋणमोचनका लागि संघीय सरकारले चालु वर्षकै बजेटमा प्रबन्ध गरेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले गत असार मसान्तमा नै १५ करोड रुपैयाँ महानगरलाई निकासा गरिसकेको छ। तर, विभिन्न कारण देखाउँदै महानगरले फाउन्डेसनलाई भुक्तानी रोकेर राखेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले भुक्तानीका लागि ‘अर्थको बेग्लै पत्र आवश्यक’ भन्दै अड्को लगाएको बताइन्छ। उनले रकम भुक्तानी प्रक्रियाबारे अर्थ मन्त्रालयमा प्रश्न पठाएपछि धुर्मुसले स्वयम् अर्थ मन्त्रालय पुगेर स्पष्टीकरण माग गरेका थिए।
अन्ततः अर्थ मन्त्रालयले पत्रको आधिकारिक जवाफ दिएपछि धुर्मुस उक्त पत्र बोकेर बुधबार बिहान भरतपुर महानगर पुगेका हुन्। उनले पत्र दर्ता गरी मेयर रेणु दाहाल र उपमेयर चित्रसेन अधिकारीलाई भेटेका छन्, तर प्रमुख प्रशासकीय अधिकृत पौडेलसँग भेट हुन नसकेको बुझिएको छ।
स्रोतका अनुसार धुर्मुस दिनभरि महानगरभित्रै पौडेलको पर्खाइमा बसेका थिए र बेलुका कार्यालय बन्द भएपछि मात्रै बाहिरिएका हुन्।धुर्मुसले या त बक्यौता भुक्तानी गर्नुपर्ने वा भुक्तानी गर्न नसक्ने निर्णयात्मक पत्र महानगरले दिनुपर्ने अडान राखेका छन्। निकट स्रोतका अनुसार उनी भोलि प्रमुख प्रशासकीय अधिकृतसँग भेटेर अन्तिम छलफल गर्ने तयारीमा छन्।




















उज्यालो खबर

















