×

गैँडाकोट- नवलपुरको गैँडाकोटमा सञ्चालित दोस्रो मेयरकप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधी गैँडाकोट नगरपालिका वडा नं. ३ ले उचालेको छ । गैँडाकोट नगरपालिका वडा नं. १८ स्थित दमार खेल मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा गैँडाकोट नगरपालिका वडा नं. ३ को समूह “ए” ले उपाधी उचालेको हो ।

आज भएको फाइनल खेलमा सोहि वडाको समूह “बी”लाई पराजित गर्दै गैँडाकोट ३ “ए” ले उपाधी जित्न सफल भयो । विजयी गैँडाकोट ३”ए” ले ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताको उपविजेता ३१ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो । दोस्रो मेयरकप वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा गैँडाकोट १८ का समूह “ए” र समूह “बी”ले सान्त्वना स्थान हाँसिल गरेका छन् । सान्त्वना स्थान हाँसिल गरेका दुवै समूहलाई क्रमश १६ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा गैँडाकोट वडा नं. ३ समूह “बी” का हिमाल सिंजाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार रुपैँया हात पारे ।
प्रतियोगिताका विजयी समूह र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, विशिष्ट अतिथि उपमेयर शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा  लगायतले पुरस्कार वितरण गर्नुभयो ।

गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चैत्र २४ गतेदेखि सुरु भएको वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा गैँडाकोटका २० समूहले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया