×

डा. अजित कुमार मिश्र

चितवन ।  देवघाट–४, तनहुँ घर भएकी छ महिनाकी कविता रेग्मीलाई (नाम परिवर्तन) स्वास फेर्न गाहो हुने, तौल नबढ्ने, बान्ताहुने, धेरै पसिना आउने समस्या भएर उनकी आमा र बुवाले भरतपुर अस्पतालमा उपचारको लागि लगे । उनलाई मुटुको समस्या हुन सक्ने शंकामा मुटुको जाँंच (echocardiography) उपचारका लागि भरतपुर अस्पतालले भरतपुर स्थित निकाे बाल अस्पताल रिफर गरियाे ।

ईको जाँच गर्दा उनको मुटुको तल्लो दुई कोठाको बिचमा प्वाल (VSD) भएको पत्ता लाग्यो । त्यसको उपचारको लागि उनलाई अस्पतालमा भर्ना गरियो । उनको उपचार तत्कालका लागि औषधीको माध्यामबाट गरिएपनि अपरेशन नै यसको मुख्य उपचार पद्धती हो । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अपरेशन मार्फत थप उपचारका लागि उनलाई काठमान्डौँ स्थित शहिद गंगालाल राष्टिय मुटु केन्द्रमा अपरेशन को लागि पठाइएको थियो । त्यहाँ कविताको (VSD) पुष्टि गरि अपरेशनको मिति तय गरेर घर पठाइयो ।

अपरेशनको मिति आएर उनलाई काठमाण्डौ बसबाट लिएर उनको आमा बुवा जानुभएको थियो । उपचार खर्चको लागि सरकारबाट एकलाख रुपैँया प्राप्त गर्न आवश्यक पनै कागजात तथा अपुग हुन आउने पैसाको लागि बाँकि भएको थोरै जग्गा धितो राखि कर्जा लिएर उनीहरू काठमाडौ गएका थिए ।

बसको भिड़भाडको यात्राले तथा यस्तो बिरामीहरूलाई छिटै र पटक पटक फोक्सो संक्रमण हुने भएकोले गंगालाल पुग्दा उनलाई फोक्सो संक्रमण हुन गै आईसीयूमा राखेर उपचार गर्दागर्दै भएको सबै पैसा सकेर पुन : अर्को मितिमा अपरेशन गर्ने मिति लिएर फर्कनुपर्यौ ।

केही समय पछि अपरेशन तोकिएको दिनमा जाँदा अक्सिजिनेटरको अभाव हुँदा अपरेशन नगरी फर्कनु परेको घटना साच्चीकै कथा जस्तो बनेको छ । पर्कने क्रममा फेरी फोक्सोको संक्रमणले विरामीलाई गाह्रो बनाएर भरतपुरमा भर्ना गरि उपचार गर्नुपर्यौ । छोरीको उपचारको क्रममा आर्थिक अभाव हुुन गै आफुसँग भएको गरगहना समेत सो क्रममा सबै बेच्नु परेको कुरा उनको आमा बताउछिन् । अहिले आएर पैसाको अभावमा मुटुमा पर्ने चाप कम गर्न प्रयोग हुने औषधी खाँदै घरमै बस्नुपर्ने बाध्यता उनि सामु छ । लामो समयसम्म यसरी बस्दैगर्दा फोक्सो प्रेस बढेर पछि शल्यक्रिया गर्दा समेत पुर्णरुपमा ठिक नहुने सम्भावना समेत उत्तिकै छ ।

आज सेप्टेम्बर २१,  “विश्वभर मुटुबाट सबै मुटुको लागि” भन्ने नाराका साथ विश्व मुटु दिवश मनाईदै छ । हुन त यो दिवश विशेष गरेर ठुलो मान्छेको मुटु स्वास्थ्यलाई केन्द्रित गरेर मनाईन्छ तर नेपाल विश्वभरी नै जन्मजात मुटुरोग (Congenital Heart Disease ) बाल मृत्युको दोस्रो प्रमुख कारण हो । नेपालमा हरेक वर्ष अनुमानित १० हजार शिसुहरु जन्मजात मुटुरोग लिएर जन्मने गरेको सरकारी तथ्यांक छ । तिनीहरूमध्ये २० देखि ३० प्रतिशतलाई कुनै न कुनै उमेरमा एन्जियोप्लास्टि (Cardiac Interventi0n ) अथवा ओपेन हार्ट सर्जरी चाहिन्छ । सो उपचार पनि निश्चित समयभित्र नगरिएमा पछि उपचार गर्न समेत कठिनाई हुने अवस्थामा पुग्न सक्दछ ।

नेपालमा यस्तो किसिमको उपचार शहिद गंगालाल राष्ट्रिय मुटुकेन्द्र काठमान्डौमा बाहेक अरु देशका प्रमुख शहरहरुमा नगन्य मात्रामा छ ।
बाल मुटुरोगको उपचार प्राविधिक रूपले धेरै जटिल हुने र उपचारको लागि उच्च श्रेणीको जनशक्ति तथा उपकरण चाहिने हुन्छ । नेपाल सरकारले दिदै आएको १ लाख रुपैँयाँ अनुदान अपर्याप्त हुँदा र भर्खर पारिवारिक तथा आर्थिक जिवनयात्रा सुरु गरेका अभिभावकहरुसँग उपचारका लागि अत्याधिक खर्च बहन गर्ने क्षमता समेत नहुने भएकोहुँदा यो विधाको खासै विकास भएको छैन ।

नेपाल बाहेक अन्य मूलुकका उदाहरण हेर्दा भारत लगाएतका देशहरूमा मुटुका विरामीहरुको उपचार सरकार आफैले गनै तथा सो उपचारको लागि प्रयोग हुने जनशक्ति तथा अस्पतालको प्रर्वधन निजी तथा सरकारी क्षेत्रको संयुक्त लगानीमा गर्ने गरिएको प्रशस्त उदाहरणहरु छन् ।
नेपालले बाल मृत्युदर घटाउने, दिगो विकास लक्ष्यको लक्ष्य प्राप्तीका लागि राम्रो परिणाम ल्याएकोमा कसैको दुईमत नहोला तर हालको बालमृत्युदर अझै घटाउने हो भने जन्मजात मुटु र बाल मुटुरोगको उपचार प्रर्वधनको विकल्प छैन, हाल बाल मृत्यु दरको दोस्रो ठूलो कारण भएतापनि संक्रामक रोग कम हुनुको साथै यो बालमृत्यु दरको प्रमुख कारण बन्नेनै छ तसर्थ सरकारी र निजी दुवै क्षेत्रले यसमा ध्यान दिनु जरुरी छ । त्यसो भएमा मात्रै कविता जस्ता अरु बालिकाहरुले समयमा उपचार प्राप्त गरि पछि यहि देशको विकासका लागि उच्च योगदान दिन सक्छन, अन्यथा बार्षिक १० हजारको हाराहारीमा मुटुरोगका साथ जन्मने शिशुहरुको बोझ परिवार, समाज र देशमा थपिँदै जानेछ ।

(डा.मिश्र निकाे बाल अस्पताल भरतपुरका सिनियर कन्सलटेन्ट बालराेग तथा बाल मुटुराेग विशेषज्ञ हुनुहुन्छ )

तपाईको प्रतिक्रिया