काठमाण्डौ – विदेश जान लेभल ए मान्यता पाएका सरकारी प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विदेश जानेहरूका लागि अब लेभल एका सरकारी प्रयोगशालाको रिपोर्टको मात्रै मान्यता दिने निर्णय गरेको हो ।
अन्य केही प्रयोगशालामा गरिएको परीक्षणमा समस्या आएको पाइएपछि यस्तो निर्णय गरिएको हो । विदेश जानेहरूको स्वास्थ्य परीक्षण गरेपछि त्यसको जानकारी स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिनुपर्ने निर्णय पनि भएको छ ।
यस्तै, बैठकले परीक्षणका क्रममा यसअघि पोजेटिभ र नेगेटिभ रिपोर्ट मात्रै दिने गरेकोमा अब बोर्डर लाइन देखिएमा पनि पोजेटिभ नै मान्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ । पोजेटिभ र नेगेटिभ दुवै नदेखाइ बीचको लाइन देखिए त्यसलाई नेगेटिभ नमानी पोजेटिभ नै मान्न निर्देशन दिइएको हो ।