×

चितवन । प्रदीप खड्का ले रामनवमी को अवसरमा चितवनमा १८D सिनेमा उद्घाटन गरेका छन्।भरतपुरस्थित सीजी ल्याण्डमार्क को दोस्रो तलामा सञ्चालनमा आएको उक्त सिनेमा आधुनिक प्रविधिमा आधारित मनोरञ्जन केन्द्र हो। उद्घाटनका क्रममा अभिनेता खड्काले १८D सिनेमाको अनुभव लिँदै चितवन जस्तो प्रमुख पर्यटकीय गन्तव्यमा यस्तो प्रविधि भित्रिनु सकारात्मक भएको बताए।

उनले सगरमाथारारा ताल जस्ता नेपालका प्राकृतिक सम्पदालाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे।फ्लाई ओभर इन्टरटेनमेन्ट द्वारा सञ्चालनमा ल्याइएको यो १८D सिनेमा कम्पनीको तेस्रो शाखा हो। यसअघि कम्पनीले काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखरामा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ।

सिनेमा हलमा एकपटकमा ८ देखि १० जना दर्शकले मात्र अनुभव लिन सक्ने व्यवस्था गरिएको छ। यहाँ १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा प्रदर्शन गरिन्छ, जसमा सिट घुम्ने, हिउँ झर्ने र पानी पर्ने लगायतका १८ प्रकारका विशेष प्रभाव समावेश गरिएको छ।

कम्पनीका प्रमुख राम थापा ले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा शाखा विस्तार गरिएको जानकारी दिए। उनले काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमार्फत देशभरका दर्शकलाई आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया