नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) — देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा भएको सवारी दुर्घटनामा एक नाबालिक बालिकाको मृत्यु भएको छ।
बिहान करिब ९:३० बजेको समयमा विद्यालयको आफ्नै बस (लु १ क ३८१४) ब्याक गर्ने क्रममा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत ४ वर्षीया सुस्मा कुमारी पासवानलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल, दुम्कौली लगिएको थियो। तर उपचारकै क्रममा बिहान ९:५९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक सुस्मा कुमारी पासवान बारा जिल्ला, कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली नगरपालिका–१४ सातघरेमा बसोबास गर्दै आएकी थिइन्।दुर्घटनामा संलग्न बस र बस चालक देवचुली नगरपालिका–१ राममन्दिर निवासी ५१ वर्षीय जगनाथ लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।



















उज्यालो खबर









