×

गैंडाकोट-नेपाली कांग्रेस नगर कार्यसमिति गैंडाकोटले नवलपुर क्षेत्र नं. १ मा पार्टीका आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरेलाई एकढिक्का भएर विजयी गराउन सबै कांग्रेसजन, शुभेच्छुक तथा आम मतदातासमक्ष अपिल गरेको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले घिमिरेलाई नवलपुर–१ बाट आधिकारिक उम्मेदवार बनाएको हो। उनको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको नगर कार्यसमितिले जनाएको छ।

नगर कार्यसमितिका सभापति बद्री सापकोटाद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल, चोक–चौतारा, चिया पसललगायत सार्वजनिक स्थानमा फैलाइने भ्रामक र असत्य प्रचारप्रति सचेत रहन आग्रह गरिएको छ। पार्टीको आधिकारिक निर्णयविपरीतका अफवाहमा नलागी एकताबद्ध रूपमा अघि बढ्न सबैलाई अनुरोध गरिएको छ।

नेपाली कांग्रेसले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, राष्ट्रिय स्रोत–साधनको सदुपयोग गर्ने तथा देशलाई विकास र समुन्नतिको दिशामा लैजाने प्रतिबद्धता रहेको स्मरण गराउँदै यस निर्वाचनलाई अत्यन्त महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेको छ।

नगर कार्यसमितिले नवलपुर–१ का सम्पूर्ण कांग्रेस कार्यकर्ता, शुभेच्छुक र मतदातालाई टोल, छिमेक र वडास्तरमै सकारात्मक मतदान वातावरण निर्माण गर्न आह्वान गर्दै, पार्टीका आधिकारिक उम्मेदवार बलकृष्ण घिमिरेलाई चुनाव चिह्न ‘रुख’मा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अपिल गरेको छ।

तपाईको प्रतिक्रिया