×

चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले माडी क्षेत्रको विकासका लागि संसदमा नीतिगत अप्ठ्याराहरू फुकाउने प्रतिबद्धता जनाएकी छन्। माडीमा आयोजित भेटघाट तथा चुनावी कार्यक्रममा बोल्दै उनले माडीको भौगोलिक, धार्मिक र पर्यटकीय महत्त्व हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेको बताइन्।

“माडी राम्रो भूगोल भएको, धार्मिक र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। तर माडीबासीले सोचेजस्तो विकास भएको छैन,” उनले भनिन्, “गरिब जनतालाई सधैँ गरिब नै राखेर राजनीति गर्ने प्रवृत्तिविरुद्ध म आएको हुँ।”

आफू पनि माडीको छोरी भएको उल्लेख गर्दै गौतमले देशका लागि केही गरौँ भन्ने उद्देश्यका साथ मूलधारको राजनीतिमा आएको बताइन्। “म पनि तपाइँहरूकै जस्तै घरकी छोरी हुँ। देश र माडीका लागि केही योगदान दिन राजनीतिमा आएकी हुँ,” उनले भनिन्।

उनले माडीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसम्म पुगेका नेताहरूले पनि माडीका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाइन्। “चुनावका बेला कुर्ची बाँड्ने, स्पीकर दिने, माइक दिने, युवालाई फुटबल बाँड्ने काम मात्रै हुन्छ। यस्ता प्रलोभनबाट सचेत हुनुस्,” उनले मतदातालाई आग्रह गरिन्।

गौतमले आफू सँग बाँड्ने कुनै भौतिक वस्तु नभएको तर इमानदारीता रहेको स्पष्ट पारिन्। “म सँग दिनेकुरा केही छैन। मसँग इमानदारीता छ,” उनले भनिन्। माडीलाई सधैँ आश्वासन मात्रै दिइएको र अब पनि झुटा वाचा हुन सक्ने भन्दै उनले मतदातालाई सजग रहन आग्रह गरिन्।

माडी विकासको दृष्टिले पछाडि पारिएको क्षेत्र भएको उल्लेख गर्दै गौतमले विकासका लागि आवश्यक परे कानुन नै परिवर्तन गरेर भए पनि मूल फुटाउने बताइन्। “म माडीको विकासका लागि कानुन बदलेर विकासको मूल फुटाउँछु। नीतिगत अप्ठ्याराहरू फुकाउन संसदमा बलियो आवाज उठाउने छु,” उनले प्रतिबद्धता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया