गैँडाकोट- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसभित्र टिकटका लागि कडा रस्साकस्सी सुरु भएको छ। यस क्षेत्रबाट काँग्रेसको उम्मेदवार बन्न पाँच जना प्रभावशाली नेताहरू आ–आफ्नो शक्ति देखाउँदै मैदानमा उत्रिएका छन्।
टिकटका आकांक्षीहरूमा क्षेत्रीय सभापतिसमेत रहेका अमृत भट्टचन, महासमिति सदस्य गजेन्द्र बहादुर आले, गैँडाकोट नगरसभापति बद्री सापकोटा, जिल्ला उपसभापति बालकृष्ण घिमिरे र काँग्रेसका पुराना नेता ओम सापकोटा रहेका छन्।
क्षेत्रीय सभापति अमृत भट्टचन पछिल्लो समय युवाहरू माझ लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन्। संगठन सुदृढीकरणमा सक्रिय भट्टचनले विपक्षी दलको मतसमेत तान्न सक्ने क्षमता राख्ने नेता भएको काँग्रेस वृत्तको बुझाइ छ। क्षेत्रीय नेतृत्वमा रहेर निरन्तर सक्रिय रहँदा उनले स्थानीय तहमा राम्रो पकड बनाएका छन्।
गैँडाकोट–१२ निवासी गजेन्द्र बहादुर आले नेपाली काँग्रेसका महासमिति सदस्य हुन्। यसअघि गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरिसकेका आले जनजाति समुदायमा राम्रो प्रभाव राख्ने नेताका रूपमा परिचित छन्। समावेशी प्रतिनिधित्वको मुद्दा निर्णायक बनेमा उनको सम्भावना बलियो देखिन्छ।
काँग्रेसका निष्ठावान र इमानदार पुराना नेता ओम सापकोटा गैँडाकोट–८ का बासिन्दा हुन्। पूर्व गाविस अध्यक्षसमेत रहिसकेका सापकोटाको लामो राजनीतिक अनुभव र पार्टीप्रतिको निरन्तर समर्पण उनका मुख्य शक्ति हुन्। यद्यपि बदलिँदो राजनीतिक परिवेशमा अनुभव मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने बहस पनि पार्टीभित्र चलिरहेको छ।
जिल्ला उपसभापति बालकृष्ण घिमिरे बौद्धिक र वाककला भएका नेताका रूपमा चिनिन्छन्। कावासोती निवासी घिमिरेको जन्म बुलिङटारमा भएकाले त्यहाँको मत आकर्षित गर्न सक्ने अनुमान गरिएको छ। जिल्ला तहको नेतृत्वमा रहेकाले संगठनभित्र उनको पहुँच उल्लेखनीय मानिन्छ।
उमेरका हिसाबले सबैभन्दा कान्छा मानिने गैँडाकोट नगरसभापति बद्री सापकोटा विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन्। २०६२/६३ को जनआन्दोलनमा युवाहरूलाई संगठित गर्दै नेतृत्वदायी भूमिका खेलेका सापकोटाले जिल्ला तहको नेतृत्व अनुभवसमेत संगालेका छन्।
पाँच दाबेदारबीच संगठन, अनुभव, युवापन, समावेशी प्रतिनिधित्व र निर्वाचन जित्ने सम्भावनाबीच सन्तुलन कसरी मिलाइन्छ भन्ने विषयले टिकट वितरणमा निर्णायक भूमिका खेल्ने देखिन्छ। स्थानीय सिफारिस, केन्द्रको निर्देशन र जित्ने क्षमताको मूल्याङ्कनका आधारमा अन्तिम निर्णय हुने काँग्रेस स्रोतको भनाइ छ।
अब सबैको चासोको विषय बनेको छ– क्षेत्रीय पकड भएका अमृत भट्टचन, जनजाति प्रतिनिधित्वका दाबेदार गजेन्द्र आले, संगठन बलियो बद्री सापकोटा, बौद्धिक नेता बालकृष्ण घिमिरे वा निष्ठाको राजनीति गरेका ओम सापकोटा, अन्ततः नवलपुर–१ मा काँग्रेसको टिकट कसले हात पार्ला ? काँग्रेसभित्रको यो रस्साकस्सी अझ रोचक बन्दै जाने संकेत देखिएको छ।




















उज्यालो खबर










