नवलपुर – नवलपुरमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ। मागअनुसार आवश्यक संख्यामा निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो।
यसअघि माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा दरखास्त नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी छनोट गर्न “निर्वाचन प्रहरी भर्ती, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२” बमोजिम दरखास्त आह्वान गरिएको थियो।
तर आवश्यक संख्यामा आवेदन नपरेपछि गृह मन्त्रालय तथा नेपाल प्रहरीको निर्देशनअनुसार आवेदन दिने म्याद थप दुई दिन कायम गरिएको कार्यालयले जनाएको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा आवेदन दिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।




















उज्यालो खबर










