चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर समितिले निर्माण कार्य पूरा नहुँदै भरतपुर महानगरपालिकाले प्रशासनिक भवन उद्घाटन गर्न लागेकोप्रति कडा आपत्ति जनाएको छ। पार्टीले यस कदमलाई विकासको नाममा गरिएको राजनीतिक प्रदर्शन र गैरजिम्मेवार निर्णयको रूपमा व्याख्या गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा रास्वपाले अधुरो संरचनाको उद्घाटन गर्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग मात्र नभई राज्यकोषबाट खर्च भएको रकमप्रति गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएको छ। भवन पूर्ण रूपमा सुरक्षित, प्रयोगयोग्य र सञ्चालनका लागि तयार नभएसम्म कुनै पनि प्रकारको उद्घाटन उपयुक्त नहुने पार्टीको स्पष्ट अडान छ।
विज्ञप्तिमा भनिएको छ, “चुनावी वा राजनीतिक स्वार्थ पूर्तिका लागि अधुरो संरचनालाई ‘उद्घाटन’ गर्नु विकासको भ्रम सिर्जना गर्ने अभ्यास हो, जुन सरासर गलत हो।” यस्तो कार्यले नागरिकको विश्वासमाथि खेलवाड हुने र विकासको वास्तविक मर्ममाथि गम्भीर चोट पुग्ने चेतावनी पार्टीले दिएको छ।
रास्वपाले अधुरो भवनको उद्घाटन समारोहमा खर्च गरिनु आर्थिक अपव्यय भएको दाबी गर्दै सो रकम बाँकी निर्माण कार्य छिटो सम्पन्न गर्न प्रयोग गर्नुपर्ने माग गरेको छ। संरचना पूरा नहुँदै सम्पन्न भएको भ्रम फैलाउनु श्रम गर्ने जनशक्ति र करदाता नागरिकप्रति अपमान भएको पार्टीको आरोप छ।
पार्टीले भरतपुर महानगरपालिकाको नेतृत्वलाई प्रस्तावित उद्घाटन कार्यक्रम तत्काल रोक्न आग्रह गर्दै, भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरी आवश्यक प्राविधिक परीक्षण, सुरक्षा मापदण्ड र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र विधिवत रूपमा सञ्चालनमा ल्याउन माग गरेको छ।
उक्त विज्ञप्तिमा रास्वपा भरतपुर समितिकी सभापति सीता इवालीको हस्ताक्षर रहेको छ।




















उज्यालो खबर










