×

काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार सार्वजनिक गरेको निर्णयअनुसार जनवरी २१ देखि यो व्यवस्था लागू हुनेछ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप सम्भावित रूपमा अमेरिकी सरकारमाथि आर्थिक भार पर्न सक्ने आप्रवासीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो। यसअघि लागू गरिएको ४० देशमाथिको अध्यागमन तथा यात्रा प्रतिबन्धलाई निरन्तरता दिँदै थप ७५ देश समेटिएको जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्ने व्यक्तिहरूबाट अध्यागमन प्रणालीको दुरुपयोग रोक्न यो कदम चालेको हो। सूचीमा रहेका देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया अध्यागमन प्रणालीको पुनः मूल्याङ्कन पूरा नहुँदासम्म स्थगित रहनेछ।”

यस निर्णयअनुसार स्थायी बसोबासका लागि दिइने आप्रवासी भिसा प्रक्रिया मात्र रोकिएको हो। पर्यटक, अध्ययन वा अस्थायी कामका लागि दिइने गैर–आप्रवासी भिसा भने पूर्ण रूपमा बन्द गरिएको छैन। तर गैर–आप्रवासी भिसा आवेदकले अमेरिकामा सार्वजनिक सुविधा प्रयोग गर्न सक्ने सम्भावनाबारे थप कडाइका साथ जाँच गर्न निर्देशन दिइएको छ।

सूचीमा परेका देशहरू

आप्रवासी भिसा स्थगित हुने सूचीमा नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भुटान, इरान, इराक, सिरिया, रुस, थाइल्याण्ड, नाइजेरिया, ब्राजिल, क्युबा, सोमालिया, यमन लगायत ७५ देश समावेश छन्।

अमेरिकाको यस निर्णयले पारिवारिक पुनर्मिलन, स्थायी बसोबास तथा विविधता भिसा (DV) मार्फत अमेरिका जाने तयारीमा रहेका नेपाली नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।

तपाईको प्रतिक्रिया