भरतपुर । विज्ञले शब्द उच्चारण गर्नेबित्तिकै प्रतिस्पर्धी विद्यार्थीले त्यसको हिज्जे, अर्थ, पर्यायवाची वा विपरीतार्थी तुरुन्तै सुनाउँदै गए। कतिपय शब्दमा विद्यार्थीहरू तत्क्षण उत्तर दिन सफल भए भने कहिलेकाहीँ अलमलिँदै अर्को समूहलाई पास पनि गरिदिन्थे।कतिबेला सबै समूहले सही उत्तर दिन्थे, कतिबेला कुनै समूहले पनि ठिक उत्तर निकाल्न सकेनन्।
चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीले पहिलोपटक आयोजना गरेको जिल्लास्तरीय नेपाली हिज्जे (स्पेलिङ्ग) प्रतियोगितामा प्रतिस्पर्धी विद्यार्थीहरूको प्रस्तुतिको शैली शिक्षक, प्रतिनिधि तथा आमन्त्रितहरूले शान्त रूपमा अवलोकन गरेका थिए।
प्रतियोगितामा २९ वटा संस्थागत विद्यालयका प्रत्येकबाट ३–३ जना गरी समूह सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धामार्फत सम्पन्न फाइनलमा रत्ननगरस्थित भानु मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुल पहिलो स्थानमा पुगेको छ।
पहिलो हुने समूहमा सनम थापा, शुबश्री बराल र रचना खड्का सहभागी थिए। विजेता समूहले १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्यो।
दोस्रो स्थान गोल्डेन फ्युचर इङ्लिस स्कुलले हात पार्यो। यस समूहका आरती अधिकारी, शिवानी गुरुङ र सनम लामिछानेले प्रतिस्पर्धा गरेका थिए। उनीहरूले ७ हजार रुपैयाँ तथा प्रमाणपत्र पाए।

आयोजक अङ्कुरम् एकेडेमीका विद्यार्थी पल्लव अधिकारी, विनिशा घिमिरे र आराध्या बानियाँको समूह तृतीय स्थानमा रह्यो। तेस्रो हुने समूहले ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो।
सान्त्वना स्थान वाल्मीकि शिक्षा सदनले हात पार्यो। विद्यालयका ममता सापकोटा, अनामिका खत्री र सम्मान त्रिपाठीले प्रतिस्पर्धा गरेका थिए। उनीहरूले ३ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा सहभागी विद्यार्थीहरू कक्षा ७ देखि १० सम्मका थिए।
नेपाली भाषामै केन्द्रित यो कार्यक्रमले निजी विद्यालयहरू नेपाली विषयमा कमजोर भएको भनाइलाई निराधार सावित गरेको आयोजक पक्षले बतायो। भाषाको संरक्षण र विकासका लागि यस्ता कार्यक्रम नियमित रूपमा आवश्यक रहेकोमा आयोजक तथा अतिथिहरूले जोड दिए।
कार्यक्रम आवासीय निर्देशक नाइम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रतियोगिताको संयोजन नेपाली विभाग प्रमुख पदमप्रसाद भुर्तेलले गरे।
प्रतियोगिताका मुख्य निर्णायक प्रेमनारायण ढकाल (पोखरा फिस्टेल एकेडेमी) थिए भने भरतबाबु ढकाल (ग्लोरियस एकेडेमी) र अमृत ढकाल (आदर्श पब्लिक स्कुल) निर्णायकका रूपमा सहभागी थिए।





















उज्यालो खबर

















