भारतको बिहार विधानसभामा गायिका मैथिली ठाकुर सबैभन्दा कान्छी सांसद बनेकी छन्। दरभंगाको अलिनगर निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार ठाकुर २५ वर्षकै उमेरमा विजयी हुँदै राजनीतिमा ऐतिहासिक प्रवेश गरेकी हुन्।
अलिनगरमा भएको मतगणनामा ठाकुरले ८४ हजार ९१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय जनता दल (आरजेडी)का विनोद मिश्राले ७३ हजार १८५ मत ल्याए। चुनावको केही समयअघि मात्र भाजपा प्रवेश गरेकी ठाकुरले पहिलोपटक नै ठूला अन्तरले जित निकाल्न सफल भएको जनाइएको छ।
यसअघि सन् २००५ मा स्वतन्त्र उम्मेदवार तौसिफ आलम र सन् २०१५ मा तेजस्वी यादव क्रमशः २५–२६ वर्षको उमेरमै निर्वाचित भएका थिए। तर ठाकुर अबसम्मकै सबैभन्दा कान्छी सांसद बनेकी छन्।
मैथिली ठाकुरको पहिचान मुख्यतः गायिकाको रूपमा रहेपनि पछिल्ला वर्षमा उनी युवापुस्तामाझ प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएकी छन्।
सन् २००० जुलाई २५ मा बिहारको मधुबनीमा जन्मिएकी उनले संगीत शिक्षा आफ्नै बुबा र हजुरबुबाबाट प्राप्त गरेकी थिइन्।
पढाइ उनले छात्रवृत्तिमा बाल भवन इन्टरनेशनल स्कुलबाट पूरा गरेकी हुन्।
उनले ‘सा रे ग म प लिटल च्याम्प्स’ र ‘इन्डियन आइडल जुनियर’ लगायतका रियालिटी शोमा भाग लिए पनि निर्णायक चरणसम्म पुग्न सकेनन्। तर सन् २०१७ को ‘राइजिङ स्टार’ मा पहिलो रनर–अप बनेपछि उनको लोकप्रियता तीव्र रूपमा बढेको थियो।
रियालिटी शोपछि ठाकुरले मैथिली भाषामा लोकगीत, भजन र परम्परागत गीत गाएर फेसबुक तथा युट्युबमा सार्वजनिक गर्न थालिन्। उनका धेरै गीतहरू करोडौँ पटक हेरिने गरेका छन्।
मिथिला क्षेत्रसँग सांस्कृतिक नाता रहेकाले उनी नेपालमा पनि उत्तिकै चर्चित छिन्। उनी सन् २०२३ मा जनकपुरस्थित जानकी मन्दिर दर्शनका लागि पनि आएकी थिइन्।
संगीत क्षेत्रमा करिअर बनाउँदै आएकी ठाकुरले सन् २०२१ मा संगीत नाटक एकेडेमीबाट प्रदान गरिने ‘उस्ताद बिस्मिल्ला खान युवा पुरस्कार’ प्राप्त गरेकी थिइन्।
त्यसअघि भारतीय निर्वाचन आयोगले उनलाई बिहारको ‘स्टेट आइकन’ समेत घोषणा गरेको थियो।
उनले सन् २०२४ मा अजय देवगन र तब्बु अभिनीत चलचित्र ‘औरों में कहाँ दम था’ मा ‘किसी रोज’ गीत गाएर बलिउडमा पनि डेब्यू गरेकी थिइन्।
पहिलोपटक चुनाव लडेर नै ठूलो अन्तरले विजयी बनेकी ठाकुरको राजनीतिक यात्रा कस्तो हुन्छ भन्नेबारे बिहारमा चासो बढेको छ।
गायनमार्फत जनमानसमा बनाएको व्यापक प्रभाव कायमै राख्दै उनले राजनीतिक भूमिकामा कति प्रभाव पार्छिन् भन्ने आगामी दिनमा स्पष्ट हुने विश्लेषकहरूको भनाइ छ।





















उज्यालो खबर

















