×

गैंडाकोट- नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)–२०८२ को दोस्रो संस्करण नजिकिँदै गर्दा प्रतियोगिताको ट्रफी आज गैंडाकोटमा प्रदर्शन गरिएको छ।

नवलपुर जिल्ला क्रिकेट संघको पहलमा ट्रफीलाई गैंडाकोट–९ स्थित नवजागरण क्रिकेट रंगशालामा विशेष समारोहबीच प्रदर्शन गरिएको हो। संघका अध्यक्ष धामनाथ सापकोटाले ट्रफी गैंडाकोट ल्याउन पाउँदा अत्यन्त खुशी लागेको बताउँदै दर्शकहरूले उत्साहका साथ ट्रफी अवलोकन गरी तस्बिर खिच्दै रमाएको जानकारी दिनुभयो।

सापकोटाका अनुसार ट्रफीलाई भरतपुर विमानस्थलबाट पञ्चेबाजा सहित वडाकार्यालय हुँदै नवजागरण रंगशाला सम्म ट्रफी टुर गरिएको थियो।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले गण्डकी प्रदेशकै कान्छो जिल्ला नवलपुरबाट ट्रफी टुर सुरु हुनु गर्वको विषय भएको बताउनुभयो। “क्रिकेटमा सम्भावना बोकेको जिल्लाबाट यात्रा सुरु हुनुले थप ऊर्जा र उत्साह दिनेछ,” उहाँले भन्नुभयो।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोद त्रिपाठीले नवलपुर गण्डकी प्रदेशभित्रको विशेष क्षेत्र भएकाले यहाँ ट्रफी टुर ल्याइएको बताए। “एभेन्जर्स नाम पोखराको भए पनि यो गण्डकी प्रदेशकै टिम हो। नवलपुरमा हाम्रो बलियो समर्थन छ, त्यसैले यसलाई ट्रफी यात्राको हिस्सा बनाउन पाएकोमा खुशी छ,” उहाँले बताउनुभयो।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गण्डकी प्रदेशको कान्छो जिल्लालाई ट्रफी यात्राको पहिलो गन्तव्य रोजेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नवजागरण क्रिकेट रंगशालामा निकट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना हुने विश्वास व्यक्त गर्नुभयो।

गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले पोखरा एभेन्जर्स टिमले गैंडाकोटमा ट्रफी टुर सम्पन्न गरेको जानकारी दिनुभयो।

कार्यक्रमको समापन नवलपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष इन्द्र सिग्देलले गर्नुभएको थियो भने सहजीकरण युवा खेलकर्मी कुशल सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा खेलकुदप्रेमी, सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि ट्रफीलाई चितवनमा प्रदर्शन गरिएको थियो। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ।

तपाईको प्रतिक्रिया