×

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । नेपालमा पोष्टमार्टम नगरी उनको अन्त्येष्टि गर्न लागिएको हो ।उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो ।

राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो ।विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ ।

‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी जोशी परिवारको भनाइ छ ।

गरिएन पोष्टमार्टम

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो ।

त्यसैले उनको मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्यले पोष्टमार्टम नेपालमा गर्न नपर्ने बताएको परराष्ट्र मन्त्रालय स्रोतले भनाइ छ ।दुई वर्षअघिसुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया