गैँडाकोट – गैँडाकोट नगरपालिका–२ निवासी ५७ वर्षका सन्तोष कुमार वाग्लेले हालसम्म ११९ पटक रक्तदान गर्दै उदाहरणीय मानवीय सेवा प्रस्तुत गर्नुभएको छ । उहाँ यस क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिहरूमध्ये अग्रस्थानमा रहनु भएको छ ।
वाग्लेले विसं २०४५ सालदेखि रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको हो । सुरुमा साथीहरूको प्रेरणाले रक्तदान अभियानमा सहभागिता जनाउनुभएका वाग्ले अहिले नियमित र जिम्मेवार रक्तदाता बन्नुभएको छ । उहाँ चिकित्सकको सल्लाह अनुसार हरेक तीन–तीन महिनामा रक्तदान गर्दै आउनुभएको बताउनुहुन्छ ।
विभिन्न अस्पतालमा रगतको अभावमा छटपटाइ रहेका बिरामीलाई रगत दिएर उहाँले असंख्य जीवनहरूलाई नयाँ आशा दिनुभएको छ । उहाँले क्यान्सरपीडित बिरामी, सुत्केरी महिला, दुर्घटनाका घाइते लगायतका बिरामीहरूलाई रगत दान गर्दै आउनुभएको छ । “कसैको ज्यान बचाउन पाउँदा म आफैँले नयाँ जीवन पाएको जस्तो महसुस हुन्छ,” उहाँ भन्नुहुन्छ, “रगत दिनु नै सबैभन्दा ठूलो दान हो भन्ने अनुभूति मलाई हरेक पटक हुन्छ।”
रक्तदानका क्रममा उहाँले स्थानीयस्तरमा आयोजना हुने रक्तदान शिविरहरूमा समेत सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ । कुनैपटक रेडक्रसले आयोजना गरेको शिविरमा त उहाँले पहिलो दाताको रूपमा रक्तदान गरेर अन्य सहभागीहरूलाई पनि प्रेरित गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी गैँडाकोट उपशाखाका आजीवन सदस्य रहेका वाग्लेले सामाजिक सेवामा निरन्तरता दिने अठोट व्यक्त गर्नुभएको छ । उहाँका अनुसार, “समाजमा रक्तदान आवश्यक छ भन्ने चेतना फैलिँदै गएको छ । अहिले युवाहरू पनि यस अभियानमा उत्साहपूर्वक सहभागी हुन थालेका छन्, जुन निकै सकारात्मक परिवर्तन हो।”
वाग्लेले रक्तदानका क्रममा कहिल्यै असहजता वा समस्या अनुभव नगरेको बताउँदै, नियमित स्वास्थ्य परीक्षणका साथ रक्तदान गर्न सके शरीरका लागि पनि फाइदाजनक हुने धारणा राख्नुभएको छ । उहाँको भनाइमा, “रगत दिंदैमा मात्र अरूको ज्यान बचिँदैन, आफ्नो शरीर पनि ताजा र स्वस्थ रहन्छ।”
तीन दशकभन्दा बढी समयदेखि निरन्तर रक्तदान अभियानमा सक्रिय सन्तोष वाग्ले अहिले गैँडाकोट र आसपासका क्षेत्रमा “रक्तदाताको प्रेरणाको स्रोत”का रूपमा परिचित हुनुहुन्छ । उहाँको उदाहरणले धेरै युवाहरूलाई पनि रक्तदानप्रति प्रेरित गरेको स्थानीयहरूले बताएका छन् ।
रगत दान गर्ने मानिसहरूको संख्या बढ्दै गइरहेको वर्तमान अवस्थामा वाग्लेजस्ता व्यक्तिहरू समाजमा आशा, करुणा र मानवीयताको सन्देश फैलाउने दूतका रूपमा स्थापित भइरहेका छन् ।





















उज्यालो खबर

















