×

गैँडाकोट-नवलपुरको गैँडाकोटमा भोलिदेखि चौथो मेयर कप अन्तरविद्यालय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको गैँडाकोटमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले प्रतियोगितामा नगरका संस्थागत र सामुदायिक गरि ३० विद्यालयका कक्षा ८ सम्मका छात्रहरुले सहभागिता जनाउने बताउनुभयो ।गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विहान ११ वजे गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान  गरिने आयोजकले जनाएको छ ।फुटवल प्रतियोगितामा तृतीय हुने दुइवटा समूहलाई १६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन चारवटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेलमा साइनिङ माध्यामिक विद्यालय र सरस्वती निकेतन स्कुल विच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा कालिका माध्यामिक विद्यालय र नेराश मावि विच खेल हुनेछ । त्यसैगरी तेस्रो खेलमा जनक नमूना मावि र बालविकास स्कुल तथा चौथो खेलमा अक्सफोर्ड माध्यामिक विद्यालय र गैँडाकोट नमूना मावि विच खेल सञ्चालन हुने खेल तालिका छ ।

पत्रकार सम्मेलनमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ति कोइराला, गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा, उपाध्यक्ष लक्ष्मण कार्की लगायतले मन्तव्य राख्दै कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया