गैँडाकोट- नवलपुर क्षेत्र नं. २ का सांसद मनिस खनालले आज प्रधानमन्त्रीसँग भेट गरी जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र समसामयिक सामाजिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्।
भेटमा उनले बुटवल–नारायणगढ सडक विस्तारलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै दाउन्ने खण्डमा देखिएको गम्भीर ट्राफिक जाम व्यवस्थापनका लागि तत्काल पहल आवश्यक रहेको बताएका थिए। साथै, रणनीतिक रूपमा महत्वपूर्ण मानिएको त्रिवेणी–दुम्किबास सडक परियोजनालाई तीव्रता दिन आग्रह गरिएको जनाइएको छ।
सांसद खनालले नवलपुरको नामाकरण टुंगो लगाउने, सदरमुकाममा आवश्यक प्रशासनिक भवन निर्माण गर्ने तथा सरकारी सेवाहरूलाई डिजिटल माध्यममार्फत सहज रूपमा नागरिकसम्म पुर्याउने विषयलाई प्राथमिकताका साथ उठाएका छन्।त्यसैगरी, नारायणी, विनयी, केरुङ्गे, अरुणखोला र गिरुवारी लगायत खोलाबाट हुने कटान तथा डुबान नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध निर्माण गर्न पूर्वतयारीसहित काम अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।
निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बौदीकाली र बुलिङटारमा इलाका प्रशासन कार्यालय स्थापना तथा हुप्सेकोट, मध्यविन्दु र बौदीकालीमा देखिएको खानेपानी र सिँचाइ समस्याको समाधानका लागि समेत उनले ध्यानाकर्षण गराएका छन्।धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण त्रिवेणी, दाउन्ने, वाल्मीकि आश्रम र मदार बाबा धामको गुरुयोजनासहित विकास र प्रवर्द्धन गर्न पनि उनले आग्रह गरेका छन्।
यसैबीच, कानुनी शिक्षाको सम्बन्धन प्रक्रियामा देखिएका समस्याहरू समाधान गरी गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै ‘Gen Z’ आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूको न्यायोचित सम्बोधनका लागि पनि सरकारसँग माग गरिएको छ।सांसद खनालले मध्यविन्दु प्रादेशिक अस्पतालको स्वास्थ्य पूर्वाधार सुदृढीकरण र सेवा विस्तारका लागि आवश्यक सहयोग र समन्वय गर्न पनि आग्रह गरेका छन्।
भेटका क्रममा समय अभावका कारण केही विषयमा विस्तृत छलफल हुन नसके पनि नवलपुरको दीर्घकालीन विकास र समृद्धिका लागि आफ्नो पहल निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।




















उज्यालो खबर











