×

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्याङ्कनमा चितवन जिल्ला का स्थानीय तहबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको छ। मूल्याङ्कनमा रत्ननगर नगरपालिका ७६.२२ अङ्कसहित पहिलो स्थानमा उक्लिएको छ।

यसैगरी इच्छाकामना गाउँपालिका ७४.३२ अङ्कसहित दोस्रो र भरतपुर महानगरपालिका ६८.०२ अङ्कसहित तेस्रो स्थानमा रहेका छन्। अन्य पालिकाहरूमा माडी नगरपालिका ६७.१०, खैरहनी नगरपालिका ६५.०९, कालिका नगरपालिका ६४.५० र राप्ती नगरपालिका ३६.२० अङ्कसहित क्रमशः पछिल्ला स्थानमा रहेका छन्।

आयोगले प्रशासनिक, वित्तीय र सामाजिक क्षेत्रका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो। बजेट तर्जुमा, राजस्व परिचालन, खर्च व्यवस्थापन, बेरुजु नियन्त्रणदेखि शिक्षा र स्वास्थ्य सेवासम्मका सूचक समेटिएका थिए। साथै ‘सूत्र’ प्रणालीको प्रयोग र अनलाइन विवरण प्रविष्टिलाई पनि विशेष महत्व दिइएको थियो।

उत्कृष्टता हासिल गरेपछि नगर प्रमुख प्रलाद सापकोटा ले यो उपलब्धि नगरवासी, कर्मचारी र समग्र टिमवर्कको परिणाम भएको बताए। “पारदर्शिता, वित्तीय अनुशासन र सेवा सुधारमा गरिएको निरन्तर प्रयासले आजको नतिजा सम्भव बनाएको हो,” उनले भने।

उनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, सुशासन र नागरिकमुखी विकासलाई प्राथमिकता दिँदै रत्ननगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरे।

यस नतिजाले चितवनका स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाएको छ भने कमजोर प्रदर्शन गर्ने पालिकाहरूलाई सुधारको स्पष्ट संकेतसमेत दिएको छ।

तपाईको प्रतिक्रिया