×

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रियासँग सम्बन्धित “इन्ट्रान्स प्रिपरेशन” र “ब्रिज कोर्स” का नाममा सञ्चालन हुँदै आएका कक्षाहरू बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले भर्ना प्रक्रिया सुरु हुनुअघि यस्ता तयारी कक्षाहरू सञ्चालन गर्दै आएका छन्। यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा असमानता बढाउने तथा अभिभावकमा अनावश्यक आर्थिक भार थप्ने देखिएको मन्त्रालयले जनाएको छ।

यही कारणले आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै प्रकारका इन्ट्रान्स तयारी तथा ब्रिज कोर्स कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिँदै यदि यस्ता कक्षाहरू सञ्चालन भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, निगरानी तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई समेत सक्रिय भूमिका खेल्न अनुरोध गरिएको छ।

यस निर्णयले शैक्षिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने र विद्यार्थीमाथि पर्ने अतिरिक्त दबाब कम गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया