नवलपुर – देवचुली नगरपालिकास्थित भिमसेन आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ को नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र चुहावट भएपछि उक्त विषयको परीक्षा रद्द गरी पुनः सञ्चालन गरिने भएको छ।
नगरपालिकाको शिक्षा शाखाका अनुसार परीक्षा केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेका महेन्द्र बिकले परीक्षा सुरु हुनुअघि नै मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर सम्बन्धित शिक्षकमार्फत विद्यार्थीसम्म पुर्याएका थिए। नियमित केन्द्राध्यक्ष अग्नि भुसाल तालिमका लागि बाहिर रहेका बेला बिकले सो जिम्मेवारी पाएका थिए।
प्रश्नपत्र चुहावटको जानकारी पाएपछि अन्य विद्यालयहरूले आपत्ति जनाएका थिए। त्यसपछि देवचुली नगरपालिकाले उक्त विषयको परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गर्दै मंगलबारका लागि नयाँ मिति तोकेको छ। शिक्षा शाखाले घटनामा संलग्न केन्द्राध्यक्षमाथि आवश्यक कारबाही गरिने जनाएको छ।
विद्यालयका प्रधानाध्यापक अग्नि भुसालले घटना दुःखद भएको उल्लेख गर्दै भविष्यमा यस्तो कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जिम्मेवारी सम्हालेका व्यक्तिबाट यस्तो कार्य हुनु अप्रत्याशित भएको बताए।
यस घटनाका कारण एकपटक परीक्षा दिइसकेका विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका छन्। यसले विद्यार्थीमा अतिरिक्त मानसिक दबाब सिर्जना गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। बालबालिकासँग काम गर्ने संस्थाहरूले परीक्षाका बेला हुने तनावका बीच यस्तो घटना झन् थप बोझ बन्ने बताएका छन्।
देवचुली नगरपालिकामा यस वर्ष कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा कुल १ हजार २७७ विद्यार्थी सहभागी रहेका छन्।




















उज्यालो खबर











