×

गैडाकोट- नवलपुरको गैडाकोट–२ स्थित अक्सफोर्ड सेकेन्डरी स्कूलले शैक्षिक गुणस्तर र व्यवस्थापनलाई अझ सुदृढ बनाउने लक्ष्यसहित युवा तथा ऊर्जावान नेतृत्व भित्र्याएको छ। विद्यालयको भाइस प्रिन्सिपलमा २७ वर्षीय इन्जिनियर रोहित भण्डारी नियुक्त भएका छन्।

भरतपुर–२ निवासी भण्डारीले सिभिल इन्जिनियरिङमा स्नातक तथा व्यवस्थापन विषयमा स्नातकोत्तर (मास्टर्स) अध्ययन पूरा गरेका छन्। प्राविधिक ज्ञान र व्यवस्थापकीय क्षमताको संयोजनले उनी विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नवनियुक्त भाइस प्रिन्सिपल भण्डारीले अभिभावक, विद्यार्थी र समयको मागलाई ध्यानमा राख्दै विद्यालय सञ्चालन गर्ने स्पष्ट दृष्टिकोण अघि सारेका छन्। “हामी अभिभावकको चाहना र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर शैक्षिक वातावरण निर्माण गर्नेछौं,” उनले बताए।

उनका अनुसार विद्यालयले २०८३ सालदेखि नयाँ, आधुनिक र सुविधासम्पन्न भवनबाट भर्ना प्रक्रिया तथा पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको छ। यसले शिक्षण–सिकाइ वातावरणलाई थप प्रभावकारी र विद्यार्थीमैत्री बनाउने विश्वास गरिएको छ।

अक्सफोर्ड कलेजका प्राचार्य डा. इन्जिनियर हरि भण्डारीले कलेजले हासिल गरेको प्रतिष्ठा र ब्रान्डलाई विद्यालय तहसम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए। “अक्सफोर्ड कलेजले जस्तो उचाइ र विश्वास हासिल गरेको छ, त्यसलाई विद्यालय स्तरमै झारेर अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो,” उनले बताए।

विद्यालयका प्रशासन प्रमुख नारायण सिग्देलले अबको रणनीति युवा सोच र प्रविधिमा आधारित हुने बताएका छन्। “हामी शिक्षण पद्धतिलाई समयअनुसार अद्यावधिक गर्दै डिजिटल र टेक्नोलोजी-आधारित शिक्षामा जोड दिनेछौं,” उनले भने।

अक्सफोर्ड सेकेन्डरी स्कूल विगतदेखि नै उत्कृष्ट शैक्षिक नतिजा र विविध अतिरिक्त क्रियाकलापहरूमा अग्रणी मानिँदै आएको छ। विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै विद्यालयले खेलकुद, सांस्कृतिक कार्यक्रम र नेतृत्व विकासका गतिविधिहरूलाई समेत उत्तिकै महत्व दिँदै आएको छ।

युवा नेतृत्व, प्रविधिमैत्री सोच र भौतिक पूर्वाधारको सुदृढीकरणसँगै अक्सफोर्ड सेकेन्डरी स्कूल आगामी दिनमा क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया