गैडाकोट- नेकपा (एमाले) गैडाकोट नगर कमिटीका नगर लेखा अध्यक्ष श्रीहरी चालिसेले आफ्नो पदिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा पार्टीको नीति, सिद्धान्त र मान्यताप्रति सम्मान रहँदा–रहँदै पनि व्यक्तिगत स्वभाव, समयको अभाव तथा समग्र नेतृत्व अभ्यासका कारण आफूले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने महसुस भएको उल्लेख गरेका छन्।
श्रीहरी चालिसे केही समयदेखि सामाजिक सञ्जालमार्फत नेकपा (एमाले)को मूल नेतृत्वप्रति प्रश्न उठाउँदै आएका थिए। उनले नेतृत्व अभ्यासमा सैद्धान्तिक बहसभन्दा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको अनुभूति व्यक्त गर्दै आएका थिए।
पदमा रहेर स्वतन्त्र विचार व्यक्त गर्दा नैतिक प्रश्न उठ्न सक्ने भन्दै उनले पार्टी नेतृत्वसँग आफूलाई पदिय जिम्मेवारीबाट मुक्त गरिदिन अनुरोध गरेका छन्। यद्यपि, साधारण सदस्यको हैसियतमा पार्टीप्रतिको निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धता निरन्तर रहने उनले स्पष्ट पारेका छन्।
उनको भनाइमा पार्टी सधैं व्यक्ति भन्दा सर्वोपरी हुने मान्यतामा आफू दृढ रहेको भए पनि व्यवहारमा त्यो संस्कार कमजोर हुँदै गएको अनुभूतिले आफू दुःखी भएको बताएका छन्। साथै, यदि आफ्नो भूमिकाले पार्टी पंक्तिलाई नैतिक अप्ठ्यारो सिर्जना गरेमा विधान तथा नियमअनुसार आवश्यक प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन्।
श्रीहरी चालिसेले आगामी दिनमा कुनै पनि राजनीतिक दलसँग औपचारिक रूपमा आबद्ध नरही समाजका सकारात्मक गतिविधि, असल नेतृत्व तथा जनहितका कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



















उज्यालो खबर








