×

काठमाडौं । बुधबार राति कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा प्रहरीले गोली हानेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमध्ये अधिकांश जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन् । प्रहरीले चलाएको गोलीबाट घाइते भएका व्यक्ति प्रहरी वृत्त, महाराजगञ्जबाट भागेको खुलेको छ ।

धारिलो हतियारसहित समूह बनाएर हिँडेको उक्त गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी काठमाडौंका डीएसपी कौशल बुढाथोकीले बताए ।

उनीहरूले मूलपानी चोकमा रात्रिकालीन चेकिङ ड्युटीमा बसेका प्रहरीमाथि राति १२:१५ बजे दुर्व्यवहार गरेका थिए । उनीहरूको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ । दुवैजना खतरामुक्त रहेको डीएसपी बुढाथोकीले बताए ।

विगत एक महिनादेखि उक्त समूह त्यस क्षेत्रमा सक्रिय रहेको सूचना प्रहरीले पाएको थियो । एउटा मोटरसाइकलमा ३ जनाका दरले हिँड्ने सो समूहलाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीले विशेष अपरेशन टोली खटाएको थियो । बुधबार राति सोही टोलीले पिछा गर्ने क्रममा उनीहरु भागिरहेका थिए ।

प्रहरीस्रोतका अनुसार राति १० बजेपछि बाटोमा हिँड्ने एक्लो, दोकलो मान्छेलाई घेरा हाल्ने, शरीर छामछुम गर्ने र नगद तथा गरगहना लुट्ने काममा उनीहरू सक्रिय थिए । रातिको समयमै विभिन्न प्राइभेट गाडीलाई निगरानी गर्ने र बाटो छेकेर रोक्ने गर्थे । गाडी रोकेपछि चालकलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र गरगहना लुट्ने गरेको प्रहरीले बताएको छ ।

उक्त समूहले मर्निङ वाकमा निस्किएका महिलाको कानबाटै थुतेर गहना लुटेको भनी प्रहरीमा उजुरी परेको थियो । जिल्ला प्रहरी परिसरमा उनीहरूविरुद्ध ३० देखि ४० वटा जाहेरी तथा उजुरी परेको प्रहरी स्रोतले जनायो ।

परिसरले बिहीबार दिउँसो पीडितलाई समेत उपस्थित गराई पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया