चितवन – कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आरम्भ कलेजको आयोजनामा ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।
उक्त प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११, चितवन मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता रहने लक्ष्य लिइएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्।
विद्यार्थीहरूमा खेलभावना, अनुशासन, नेतृत्व र टीमवर्कको विकास गराउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघ (Nepal Basketball Association – NeBA) का आधिकारिक नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। खेललाई निष्पक्ष, व्यवस्थित र मर्यादित बनाउन अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोली परिचालन गरिएको छ।
प्रतियोगितालाई थप आकर्षक बनाउन आकर्षक पुरस्कार राशिको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १५,००० र दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु. १०,००० पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई Most Valuable Player (MVP) तथा Highest Scorer को उपाधिसहित विशेष सम्मान प्रदान गरिनेछ। सहभागी सबै टिम तथा विजेता टिमलाई प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ। कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा खेलाडीहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै प्रतियोगिताका नियम, खेल तालिका, अनुशासन र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी दिइएको थियो।
आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।



















उज्यालो खबर







