×

झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चुनावी तयारी तीव्र र व्यवस्थित रूपमा अघि बढाइएको छ। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने तयारीसँगै निर्वाचन सरगर्मी बढेको हो।

बालेनको निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन झापाका तीन फरक स्थानमा चुनावी सचिवालय स्थापना गरिएको छ। मुख्य चुनावी सचिवालय दमकस्थित रास्वपा नेता लक्की सिटौलाको घरमा राखिएको छ। अन्य दुई सचिवालय इलाका प्रहरी कार्यालय नजिक र दमक क्याम्पस मोड क्षेत्रमा स्थापना गरिने तयारी पूरा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले जनाएको छ।

रास्वपा झापाका सभापति प्रकाश पाठकका अनुसार निर्वाचन तयारीलाई सुदृढ बनाउन क्षेत्रीय संयोजक भेषराज भट्टराईको नेतृत्वमा मूल सचिवालयले कमान्ड सम्हाल्ने निर्णय भएको छ। आर्थिक व्यवस्थापन, युवा परिचालन, प्रचार–प्रसारलगायत विषयमा विभिन्न उपसमितिहरू गठन गरिएका छन्।

दमकमा बालेनका लागि ‘थ्री–लेयर’ मोडलमा सचिवालय सञ्चालन गर्ने तयारी गरिएको छ। यसअन्तर्गत पहिलो घरमा राजनीतिक र डिजिटल टिम रहनेछ। सामाजिक सञ्जालमा बालेनको प्रभावलाई ध्यानमा राख्दै फेसबुक, युट्युब, टिकटकलगायत माध्यममा केन्द्रित १५ जनाको विशेष टोली र काठमाडौंबाट आउने ब्याकअप टिम यहीँ रहनेछन्।

दोस्रो घरमा बालेन स्वयं बस्नेछन्। यहीँबाट राजनीतिक भेटघाट, तत्काल निर्णय र रणनीतिक परिवर्तन गरिनेछ। सामाजिक सञ्जाल टिम र निर्वाचन कमान्डसँग समन्वय गरेर काम गर्ने व्यवस्था मिलाइएको छ।

तेस्रो घरबाट बालेनका निकट नेता, रास्वपाका स्थानीय नेतृत्व तथा रणनीतिक टोली परिचालन हुनेछन्। यस सचिवालयबाट मतदाता सर्वेक्षणका आधारमा तयार गरिएका गोप्य रणनीति र कार्यक्रम कार्यान्वयनमा लगिने तयारी गरिएको छ। मतदातालाई युवा, वृद्ध, महिला तथा वैदेशिक रोजगारीमा रहेका समूहमा विभाजन गरी छुट्टाछुट्टै एजेन्डा तय गरिएको बताइएको छ।

सुरुमा दमकको क्याम्पस मोड र गोर्खा किचन आसपासका क्षेत्रमा ७-८ वटा घरको अध्ययन गरिएको थियो। केही स्थानीयले निःशुल्क घर उपलब्ध गराउने प्रस्ताव गरे पनि सुरक्षा र पहुँचलाई ध्यानमा राख्दै अन्तिम छनोट गरिएको हो।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ। सो अवसरलाई रास्वपाले शक्ति प्रदर्शनको रूपमा उपयोग गर्ने रणनीति बनाएको छ। औपचारिक भाषणभन्दा सांस्कृतिक पक्षलाई प्राथमिकता दिइने र धिमाल, राई, लिम्बू, सन्थाल तथा पञ्चेबाजा सहितका सांस्कृतिक झाँकी सहभागी गराइने तयारी छ।

दमक, कमल, गौरादह र गौरीगञ्ज गरी चार पालिकाबाट सांस्कृतिक झाँकीसहित कार्यकर्ता उतार्ने योजना बनाइएको छ। दमक क्षेत्रमा मात्रै रास्वपाका करिब तीन हजार संगठित सदस्य रहेको र उनीहरूलाई मनोनयनका दिन सडकमा उतार्ने तयारी गरिएको छ। यसका अतिरिक्त बालेनका अन्य शुभेच्छुकहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ।

बालेन दमक आउँदा ‘जेन–जी’ युवाको उल्लेख्य उपस्थिति र अन्य जिल्लाबाट समेत युवा परिचालन हुन सक्ने आकलन गर्दै सुरक्षा निकायले तयारी थालेका छन्। सुरक्षा स्थिति मूल्यांकन र भावी व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाले निर्वाचन परिचालनका लागि जिल्ला स्तरमा ‘र्‍यापिड एक्सन टिम’ (र्‍याट) गठन गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक जना कमान्डर तोक्ने तयारी भइरहेको र स्थानीय तहमा झाँकी तथा व्यवस्थापनको जिम्मा क्षेत्रीय समिति र पालिका सभापतिहरूले सम्हालिरहेका छन्।

केन्द्रबाट खटिएका केन्द्रीय नेताहरू रहे पनि क्षेत्रीय स्तरमा भेषराज भट्टराईको संयोजकत्वमा मूल सचिवालयले सम्पूर्ण कमान्ड सम्हाल्ने निर्णय भएको रास्वपा झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया